औद्योगिक करिडोरको अरिहन्त मल्टि फाइबर्समा हरेक सिफ्टमा काम गर्ने दुई सय मजदुरको अभाव छ। बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा चल्ने उद्योगलाई दिनको ६ सय मजदुर खाँचो छ। चाहिए जति काम गर्ने मजदुर नहुँदा दैनिक १० टन उत्पादन कम हुने गरेको फाइबर्सका प्रबन्धक गोविन्द बजगाईंले बताए। ‘जति खोजे पनि मजदुर पाइएको छैन,' प्रबन्धक बजगाईंले नागरिकसँग भने, ‘एउटै सिफ्टमा काम गर्ने मजदुरलाई अर्को सिफ्टमा पनि काम लगाउनुपरेको छ।' अरिहन्तमा तीन हजार ६ सय मजदुर छन्। रघुपति जुट मिलमा दैनिक ९ सय कामदारको अभाव छ। एक सिफ्टमा तीन सय मजदुरको अभाव रहेको मिलका प्रबन्धक श्याम आचार्यले बताए। मिलमा तीन हजार पाँच सय मजदुर छन्। ‘पुरुषहरू काम छोडेर विदेश गएपछि केही महिला कामदार राखिएको छ,' आचार्यले भने।
नेपाल जुट उद्योग संघका अध्यक्षसमेत रहेका अरिहन्त र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले दुवै उद्योगमा १० प्रतिशत मजदुर नपुग रहेको बताए। गोल्छाको दुइटै जुट मिलमा ७ हजार पाँच सय मजदुर छन्। अन्य उद्योगभन्दा जुट मिलको कामदारको आवश्यकता धेरै हुन्छ। झन्डै पाँच सय बढी उद्योग सञ्चालनमा रहेको सुनसरी-मोरङ करिडोरमा मजदुर अभाव छ। करिडोरका ती उद्योगमा अनुमानित ५० हजार मजदुर छन्। युवाहरु वैदेशिक रोजगारमा आकर्षण बढेपछि यहाँ मजदुर अभाव भएको हो। ‘करिडोरका उद्योगहरुमा मजदुरको अभाव छ,' मोरङ व्यापार संघका अध्यक्ष महेश जाजूले नागरिकसँग भने। करिडोरका उद्योगमा करिब १० हजार मजदुर अपुग रहेको उनले बताए।
स्रोत:http://nagariknews.com
No comments:
Post a Comment