पूर्वाधारमा उचित लगानी बढाउन सके नेपालले आगामी दिनमा ७/८ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्न सक्ने एसियाली विकास बैंकका अध्यक्ष हारुहिको कुरोदाले बताएका छन् । नेपालको सबैभन्दा ठूलो कमजोरी पूर्वाधार अभावलाई औंल्याउँदै उनले त्यसका लागि सडक, प्रसारण, यातायातमा लगानी बढाउनुपर्ने बताए। राजनीतिक संक्रमणका बीच आर्थिक चुनौती सम्बोधन गर्न नेपालले गरिरहेको प्रयासमा अझ मजबुत सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले लगानीको क्षेत्र अब पूर्वाधार हुने संकेत गरे । नेपालको चारदिने भ्रमणको समापनमा कान्तिपुरसँगको विशेष अन्तर्वार्तामा उनले भने, 'राजनीतिक संक्रमणका अलावा विश्व आर्थिक मन्दीको प्रभाव तथा पूर्वाधार तथा संस्थागत क्षमताको कमीले चुनौती थपिएको छ । 'नेपालमा सडक सञ्जाल ठीकै छ तर तिनको व्यापक सुधार आवश्यक छ । ऊर्जा, खानेपानी आपूर्ति, सञ्चार आदिमा व्यापक स्तरोन्नतिको आवश्यकतासमेत उनले औंल्याए । यसले नेपाललाई विश्व अर्थतन्त्रसँग जोड्ने बताउँदै उनले भने, 'सडक सञ्जाल, विमानस्थल विस्तार आदिमा नेपालको आवश्यकताअनुसार सहयोग गर्न एडिबी तयार छ ।'
नेपाललाई विकास प्रयासमा सघाउन बैंकले प्रदान गर्दै आएको सहयोग रकममा उच्च वृद्धि गर्ने घोषणा उनले गरे । '२०११-२०१३ मा वाषिर्क सहयोग २८ करोड ७० लाख अमेरिकी डलर पुर्याउने लक्ष्य छ,' कुरोदाले भने । यसमा आधा अनुदान हुनेछ । बैंकले २००७-२००८ को २५ करोड ८० लाख अमेरिकी डलरलाई दोब्बर पारेर २००९-२०१० मा ५५ करोड ९० लाख डलर पुर्याएको उनले जनाए। दातृ निकायले सहयोग राशि बढाए पनि नेपालको राजनीतिक तरलता र संक्रमणका कारण आयोजनाहरू समयमा सुरु हुन र समापन हुन सकिरहेका छैनन् । दाताहरूले राख्ने कडा सर्त पनि यसमा जिम्मेवार रहेको सरकारी अधिकारीले बताउँदै आएका छन् । कुरोदाले वातावरणीय प्रभाव मूल्यांकन, पुनर्वास, आदिवासी जनताको अधिकारजस्ता सर्त पूरा गर्नुपर्ने भए पनि पछिल्लो समयमा निकै खुकुलो भइसकेको बताए । 'नेपालले मात्र होइन, अरू मुलुकले पनि यो कुरा भन्दै आएका छन्,' पत्रकार सम्मेलनपछि कान्तिपुरसँग विशेष कुरा गर्दै उनले भने, 'अहिले सर्त निकै खुकुला भइसके ।'
गएको दशकमा सामाजिक क्षेत्र, मानव अधिकार, सुशासन जस्ता क्षेत्रमा सहयोग लगानी गर्दै आएका दातृ संस्थाहरू अब पूर्वाधारमा लगानी बढाउनुपर्ने दबाब बढ्दै गएको छ । कुरोदाले पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता भए पनि अन्य क्षेत्रलाई पनि छाड्न नहुने बताए । 'सरकारको संस्थागत क्षमता, सुशासन भएन भने दातृ निकायबाट ठूलो परिमाणमा सहयोग आए पनि तिनको उचित उपयोग हुँदैन,' उनले भने । चीन र भारतजस्ता दु्रत आर्थिक विस्तार गरिरहेका मुलुकको बीचमा हुनु नेपालको ठूलो अवसर भएको उनले बताए । 'त्यसबाट नेपालले फाइदा लिन सकेको छैन,' कुरोदाले भने । मेकोन, आसियानलगायत मुलुकबीच तीव्र क्षेत्रीय साझेदारीले आर्थिक वृद्धिमा ठूलो सहयोग गरेको छ । तर दक्षिण एसियामा भने त्यस्तो हुन सकेको छैन ।
कुरोदाले यो क्षेत्रमा काम गर्न धेरै अघि सुरु गरे पनि उल्लेख्य उपलब्धि हासिल हुन नसकेको स्वीकार गरे । 'केही परियोजना सुरु भएका छन्,' उनले भने, 'अझ विस्तार गर्नुपर्छ ।' नेपालको सबैभन्दा ठूलो विकास साझेदार बैंकका अध्यक्षको तहमा १२ वर्षपछि नेपाल भ्रमण भएको हो चारदिने भ्रमणको क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायत उच्च सरकारी अधिकारीलाई भेटेका थिए । भेटका अवसरमा केही विशेष परियोजनाबारे नेपाली पक्षबाट चासो देखिएको उनले बताए । तर ती परियोजनाको नाम भने उनले बताउन चाहेनन् । 'त्यस्तो माग हुनु स्वाभाविक हो, अहिले नाम नभनौं । सहयोगका क्रममा भने त्यसलाई विशेष ध्यान दिइनेछ,' कुरोदाले भने । आफ्नो भ्रमणबाट विकास सहयोगको प्राथमिकतामा ठूलो परिवर्तन नभए पनि आफैंले अनुभव गरेकाले केही प्रभाव भने पर्ने उनको भनाइ थियो । लुम्बिनी र बैंकको सहयोगमा सञ्चालित दुई आयोजनाको पनि उनले भ्रमण गरेका थिए । कुरोदा बिहीबार भुटान जाँदै छन्।
स्रोत:http://www.ekantipur.com
No comments:
Post a Comment