राजधानीमा गत वर्ष पर्यटक स्तरका ३८ नयाँ होटल थपिएका छन्। काठमाडौं बाहिर दुईवटा तीनतारे होटल सञ्चालनमा आएका छन्। होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) को अध्ययन अनुसार पर्यटक स्तरको एउटा होटल सञ्चालन गर्न औसत १५ लाख रुपैयाँ लगानी गर्नुपर्छ। यस्ता होटलमा कम्तीमा एकबराबर आठजनाले रोगगारी पाउँछन्। न्यूनतम १५ देखि २० कोठा हुनुपर्छ। 'आर्थिक वर्ष २०६६/०६७ मा काठमाडौंभित्र पर्यटक स्तरका ३८ होटल थपिएका छन्,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत निराजन घिमिरेले शनिबार नागरिकसँग भने, 'राजधानी बाहिर भने दुईवटा तीनतारे होटल बनेका छन्।'
उनका अनुसार भीमदत्त नगरपालिका-४, कञ्चनपुरमा होटल ओपेरा तीनतारे स्तरमा सञ्चालनमा आएको हो। यसको अधिकृत पुँजी २ करोड र जारी पुँजी ५० लाख रुपैयाँ छ। यो लगानी दर्ता हुँदा उल्लेख भएको बेलाको मात्र हो। यसमा लगानी थपिँदै जान्छ। ओपेरामा ३० कोठा र ५८ बेड र ३८ कर्मचारी छन्। विराटनगरस्थित होटल रत्ना तीनतारेमा बर्गिकृत भएको छ। यसको अधिकृत पुँजी ३५ लाख र जारी पुँजी १५ लाख छ। यसमा ३४ कोठा, ४९ बेड र ४१ कर्मचारी छन्। त्यसै गरी विराटनगरकै होटल जेनियल पनि तीनतारेमा दर्ता हुन प्रक्रियामा रहेको घिमिरेले बताए। गत आवमा आठ होटलले नवीकरण गरेको उनले जानकारी दिए।
काठमाडौंमा नयाँ थपिएका होटलले मध्यम बर्गका कम खर्च गर्ने पर्यटकलाई लक्ष्य गर्ने हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले बताए। 'नयाँ होटल थपिँदैमा खुसी हुनुपर्ने अवस्था भने छैन,' उनले भने, 'नेपाल पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा खुलेका हुनाले यिनीहरूको योगदान पक्कै हुन्छ।' पर्यटक स्तरका अधिकांश होटल घर भाडामा लिएर सञ्चालन गरिने र सञ्चालक परिवर्तन भइरहने हुनाले तुरुन्तै बन्द हुने सम्भावना अधिक हुने श्रेष्ठले बताए। पाँचतारे र चारतारे होटलमा वृहत लगानी हुने भएकाले रोजगारी सिर्जना, पर्यटक राख्ने क्षमता लगायत कारण यस्ता होटल दिगो हुने उनले बताए। 'यस्ता होटल खोल्न जति गाह्रो छ, बन्द गर्न पनि झन् गाह्रो छ,' उनले भने।
उनका अनुसार हालसम्म नेपालको होटल उद्योगमा १ खबं ५० अर्ब रुपैयाँ लगानी भएको छ। दशक लामो माओवादी द्वन्द्व र राजनीतिक अस्थिरताका कारण यो उद्योगमा लगानी थपिन सकेको छैन। चारतारे होटलहरू शेर्पा, उडल्यान्ड, ब्ल्यु स्टार र नारायणी बन्द भएपछि पुनः सञ्चालनमा आउन सकेका छैनन्। 'सबै लगानी व्यवसायीले जोखिम मोलेरै गरेका हुन्,' उनले भने, 'पर्यटन वर्षमा यो उद्योगका लागि सरकारले अहिलेसम्म कुनै प्याकेज दिएको छैन।' हालसम्म पर्यटक स्तरदेखि पाँचतारे गरी २ सय ५० होटल हानका सदस्य छन्। हानको पोखरा च्याप्टरमा भने ४ सय होटल सदस्य छन्। काठमाडौं बाहिरका होटल सम्बद्ध च्याप्टरमा सदस्य बन्छन्। मन्त्रालयका अनुसार सन् २००९ सम्ममा ७ सय ३६ होटल दर्ता भएका छन्। तिनीहरूमा १४ हजार २ सय ७२ कोठा र २८ हजार ४ सय ८५ बेड छन्। तीमध्ये काठमाडौंमा ४ सय २२ र बाहिर ३ सय १४ होटल छन्। काठमाडौंमा आठ र पोखरामा दुई पाँचतारे छन्। चारतारे दुई, तीनतारे १७, दुईतारे ३१, एकतारे ३७ र पर्यटक स्तरका ६ सय ३९ छन्।
क्लब हिमालयलाई तीनतारा
नगरकोटस्थित होटल क्लब हिमालयलाई पर्यटन मन्त्रालयले तीनतारे स्तर दिने तयारी गरेको छ। होटलले 'डिलक्स' स्तर मागेको थियो। 'क्लब हिमालयले डिलक्स स्तर मागेको थियो,' मन्त्रालयका अधिकृत निराजन घिमिरेले भने, 'डिलक्स चार र पाँचतारेमा मात्र हुन्छ।' मन्त्रालयका अधिकारीले केही दिनअघि उक्त होटल निरीक्षण गरेका थिए। यसै गरी पाँचतारे सोल्टी र याक एन्ड यतीले आन्तरिक सजावट परिवर्तन र पुराना सामान फेर्न एवं क्लब हिमालयले कोठा थप्न मन्त्रालयबाट योजना स्वीकृत गराएका छन्। मन्त्रालयबाट योजना स्वीकृत भएपछि होटलमा प्रयोग हुने सामान आयात गर्दा भन्सार ५ प्रतिशतमात्र तिरे पुग्छ।
ट्रेकिङ र ट्राभल थपिए
यसै गरी गत आवमा १ सय ३० ट्रेकिङ र २ सय ८ ट्राभल एजेन्सी थपिएका छन्। यी थपिएपछि टे्रकिङ एजेन्सीको संख्या १ हजार १ सय ६८ र ट्राभल एजेन्सी १ हजार ६ सय ३० पुगेको छ। र्याफ्टिङ एजेन्सी भने ९ मात्र थपिएका छन्। हालसम्म दुईमात्र दर्ता भएका थिए। ट्रेकिङ र ट्राभल एजेन्सी इजाजत लिन १५ हजार रुपैयाँ लाग्छ। ट्रेकिङलाई ३ लाख र ट्राभललाई २ लाख रुपैयाँ बैंक ग्यारेन्टी चाहिन्छ। होटललाई इजाजत दस्तुर चाहिँदैन। सबैको नवीकरण प्रत्येक पाँच वर्षमा एक पटक हुन्छ।
स्रोत:http://nagariknews.com
No comments:
Post a Comment