दक्षिण एसियामा भारत र बंगलादेशसंग नेपालको द्विपक्षीय व्यापार सम्झौता छ । बंगलादेशसँगको सम्झौता थप परिमार्जन गर्न गत साता दुई देशका वाणिज्य सचिवस्तरीय वार्ता भएको थियो। नेपाल र पाकिस्तानबीचको व्यापार अत्यन्त न्यून छ। आर्थिक वर्ष २०६५/६६ मा नेपालबाट ८ करोड ६० लाख रुपैयाँका वस्तु पाकिस्तान निर्यात भएको थियो । सोही अवधिमा पाकिस्तानबाट २४ करोड रुपैयाँको आयात भएको निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाएको छ। सौविद्धप्राप्त सम्झौताअन्तर्गत पाकिस्तानी बजारमा पहुँच पाए सम्भावना नभएको भने होइन। भारतसँगको व्यापार सम्झौता अनुसार नेपालका सबै प्राथमिक कृषिजन्य उत्पादनले शून्य भन्सार दरमा प्रवेश पाउँछन्। यसैगरी धेरै व्यापार हुने औद्योगिक उत्पादन पनि भारतमा शून्य भन्सारदरमै निर्यात भइरहेका छन्।
यस क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रबाट शून्य भन्सार सुविधा प्राप्त भए साफ्टाभन्दा १८ प्रतिशत सस्तो हुने व्यवसायीहरू बताउँछन्। 'हामीले साफ्टाअन्तर्गत पाकिस्तान निर्यात गरिरहेका छौं,' सुजल डेरीका निरञ्जन श्रेष्ठले भने, 'द्विपक्षीय व्यापार सम्झौता भए लागत निकै घट्नेछ ।' सुजलले करिब १ महिनाअघि ५० मेटि्रक टन धूलो दूध पाकिस्तान निर्यात गरेको छ । थप १ सय ५० पठाउने तयारीमा रहेको उनले बताए । 'यो सँगै अर्को २ सय टनको माग पनि आएकाले पाकिस्तानमा निर्यातको सम्भावना बलियो छ,' उनले भने पाकिस्तान हुँदै अफगानिस्तानसम्म बजार खोज्न सकिने सम्भावना रहेको पनि उनी बताउँछन। नेपाल र पाकिस्तान दुवै दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) का पनि सदस्य हुन्। २००६ जनवरीदेखि साफ्टाअन्तर्गत वस्तु व्यापार सम्झौता कार्यान्वयनमा आए पनि क्षेत्रीय व्यापार बढ्न सकेको छैन। सबै सदस्य देशहरूको लामो संवेदनशील वस्तुहरूको सूची र भारत पाकिस्तान तनावका कारण साफ्टा कार्यान्वयन नभएको विज्ञहरू बताउँछन्। यस क्षेत्रको दोस्रो ठूलो देश पाकिस्तानसँगको सम्झौताले बजारको सम्भावना बढाए पनि भारत-पाकिस्तान सम्बन्धकै कारण व्यापार विस्तारको सम्भावना भने कम छ । नेपालको पाकिस्तानसँगको व्यापारका लागि भारतको ट्रान्जिट आवश्यक पर्छ । तर भारत र पाकिस्तान सम्बन्धका कारण यसमा समस्या हुने आशंका विज्ञहरूको छ।
स्रोत: http://www.ekantipur.com
No comments:
Post a Comment