नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले बाहिर भनिएजस्तो मुलुकको अर्थतन्त्र सङ्कटमा नपरेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको शुक्रबारदेखि सुरु भएको तीन दिने पाँचौ केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै उहाँले आर्थिक वृद्धिदर चार प्रतिशत, औद्योगिक उत्पादन ३ दशमलव ५ प्रतिशत र मूल्यवृद्धि १० अङ्कमा झरेकोले अर्थतन्त्र सङ्कटमा पर्यो भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
यो वर्ष आयात वृद्धिदर घटेको तथा वस्तु निर्यातमा समस्या देखिए पनि सेवा निर्यातमा वृद्धि भएको जानकारी गराउँदै गर्भनर खतिवडाले बैङ्कहरुमा तरलता वृद्धि नभएकाले अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो ।
भुक्तानी सन्तुलन घाटामा जाँदैमा मुलुक घाटामा गयो भनेर भन्न नमिल्लने भन्दै उहाँले नेपाली मुद्रामा रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको, विदेशी मुद्रा सञ्चिति विगतको भन्दा घटेको भए पनि हाल वृद्धि हुने क्रममा रहेको जानकारी गराउनुभयो ।