भारतले गण्डक संरचना मर्मतसम्भार, डुबान तथा कटान नियन्त्रण गर्न नवलपरासी स्थित नेपाली भूमिमा भारु १ अर्ब ७८ करोडको बृहत् परियोजना प्रतिवेदन तयार गरेको छ । नवलपरासीमा भारतीय पक्षबाट गर्नुपर्ने भारतीय गण्डक नहरमा रहेका बाँध, साइफन मर्मत, नहरको सडक पिच, खोलाको व्यवस्थापनलगायतका परियोजना प्रतिवेदन तयार गरेको हो ।
गत जुन महिनाको १७ र १८ तारेखको दिन काठमाडौँमा बसेको गण्डक, कोसी नेपाल भारतको संयुtm समितिको बैठकमा भारतीय अधिकारीहरुले गण्डक बाँध र परियोजना सम्बन्धी सम्पूर्ण संरचनाको पुनर्निर्माण भारतले गर्ने जानकारी गराएका थिए । गण्डक बाँधको बृहत् परियोजना प्रतिवेदन -डिपिआर) तयार गरी आउँदो अक्टोबरदेखि काम थाल्ने बैठकमा भारतीय अधिकारीले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जनाएको छ । बैठकमा गण्डक क्षेत्रमा हुने कामको सम्पूर्ण योजनाको लागत, नक्सा र योजनाबारे नेपाली अधिकारीलाई जानकारी गराउने र नेपाली प्राविधिकको रोहवरमा काम हुने तथा खजुरा खोला र सानो गण्डकको समेत व्यवस्थापन गर्न भारतले सहमति जनाएको छ ।
नेपाल भारतका अधिकारी र गण्डक पीडित सङ्घर्ष समितिबीच भएको २१ बुँदे सहमतिअनुसार काम पूरा गर्न भारत बिहार सरकारले सो परियोजनाको काम गर्नेछ । हाल उत्तर प्रदेश सरकारले भारु १६ करोडबराबरको परियोजना तयार गरी भारतीय मुख्य पश्चिमी गण्डक नहर र नारायणी नदीको स्पर र बाँध मर्मत गर्ने कार्य गर्दै आएको छ । तर हालसम्म कामको नक्सा, लागत नेपाली प्राविधिकलाई उपलब्ध नगराएको र काम पनि गुणस्तरहीन गर्दै आएको गण्डक पीडितले कामको विरोध गर्दै आएका छन् । नवलपरासीमा जिल्लाको १३ गाविसका गण्डक पीडितले पाउने रु दुई अर्ब ९३ करोड क्षतिपूर्ति भने अहिलेसम्म पनि भारतीय पक्षले दिएको छैन।
स्रोत: http://www.onlinekhabar.com