राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नेपाली र भारतीय रुपैयाँबीचको विनिमय दरमा फेरबदल नहुने घोषणा गरेका छन्। विभिन्न क्षेत्रबाट विनिमय दर परिवर्तन हुन लागेको हल्लाले भारतीय रुपैयाँ लुकाएर राख्ने प्रवृत्ति बढिरहेका बेला खतिवडाले यसबाट नेपाललाई कुनै फाइदा नहुने बताए। "नेपाल र भारतबीचको विनिमय प्रणाली यही रहन्छ, र दर पनि यही रहन्छ," आर्थिक पत्रकारहरूसँग शुक्रबार भएको छलफलमा उनले भने। भारतको सय रुपैयाँ बराबर अहिले १ सय ६० नेपाली रुपैयाँ छ। लामो समयदेखि नेपाली र भारतीय रुपैयाँबीच रहेको यो विनिमय दर परिवर्तन हुन लागेको चर्चा चलेको छ। यसले सीमावर्ति सहरमा भारतीय रुपैयाँको कालोबजारी भइरहेको छ।
भारतमा मूल्य वृद्धिदर दुई अंक नाघ्न आँटेको र नेपालमा दुई अंकबाट घट्न लागेको अवस्थामा विनिमय दर परिवर्तन गर्दा नेपाललाई कुनै फाइदा नहुने खतिवडाले बताए। 'विनिमय दर फेर्ने विषयमा अध्ययन, विश्लेषण गरेका छैनौं, अहिलेको राजनीतिक परिदृश्यमा यो सम्भव छैन,' उनले भने। विनिमय दर बढ्ने आशामा भारतीय रुपैयाँ घरमा थुपारेर राख्नेले बैंकबाट पाउने व्याज मात्र गुमाउने गभर्नरले बताए। सरकारको नीति तथा कार्यक्रम र बजेट आउन ढिलाइ भए पनि मौद्रिक नीति आउन समस्या नपर्ने उनले उल्लेख गरे। 'त्रिवर्षीय योजनाले निर्देशित गरेको आधारमा सरकारको नीति तथा कार्यक्रम रहने हुँदा मौद्रिक नीति ल्याउन कुनै समस्या पर्दैन,' गभर्नरले भने। "पुँजीको लागत महंगो भयो भने उत्पादनमूलक उद्योगबाट उत्पादित वस्तु कसरी महंगो हुन नदिने भन्ने हाम्रो मौद्रिक नीतिको चासो छ," उनले भने। आउँदो मौद्रिक नीति यसैमा केन्द्रित रहने उनले संकेत गरे।
मौद्रिक नीतिमा सेयर धितो राखेर कर्जा दिने मार्जिन लेन्डिङ परिमार्जन गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। बैंकहरू आपसमा गाभिने (मर्जर) हुनुपर्छ भन्ने राष्ट्र बैंकको धारणा रहेको उनले प्रष्ट पारे। 'बैंकहरू धेरै भए भन्ने मनोविज्ञान छ, त्यसले मर्जरमा जान कसरी गर्ने, के गर्ने भनेर आगामी दिनमा छलफल जारी राखिनेछ,' उनले भने। मर्जरले नयाँ संस्थाको प्रवेशलाई स्थान मिल्नुका साथै भएकाहरूबीच प्रतिस्पर्धा हुने खतिवडाले बताए।