पछिल्लो २ महिनाभित्र बैंकहरूमा उल्लेख्य रकम थपिए पनि यसको दिगोपनाले मात्र कर्जाको ब्याज घटाउन दबाब पर्ने देखिन्छ। गत वर्षको चौथो त्रैमासिकमा बढेको अधिकांश रकम अस्थायी प्रकृतिको भएकाले बैंकहरू पछिल्लो समयको निक्षेप वृद्धिदरलाई नियालिरहेका छन्। मंसिरदेखि जेठसम्म स्थिर रहेको निक्षेप असारमा करिब ४० अर्ब रुपैयाँले बढेको छ। वित्तीय क्षेत्रमा तरलताको अवस्था सन्तुलित रहन निक्षेपको वृद्धिदर औसत २० प्रतिशत हुनुपर्छ।
'निक्षेप बढी नै रहेको छ,' बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भण्डारीले भने, 'तर ब्याजदर घट्ने/नघट्ने भने यसको दिगोपना हेरेर निर्धारण हुनेछ।' सरकारी खर्चमा भएको वृद्धि, ब्याज आम्दानी, दोहोरो निक्षेप गणनाका कारण अन्तिम त्रैमासिकमा बचत बढेको देखिए पनि चालू आर्थिक वर्षमा निक्षेप वृद्धिदर पहिलेजस्तो नरहेको बैंकहरू बताउँछन् । बढेको निक्षेपमा करिब ५ अर्ब रुपैयाँ ब्याज आम्दानी भएकाले खातामा देखिए पनि लगानी गर्न सकिने रकम होइन। यसले बैंकहरूको तरलता क्षमता बढाउँदैन। मौदि्रक नीतिमार्फत एक बैंकले अर्कोमा ब्याज आउने गरी रकम राख्न नपाउने व्यवस्था गरेपछि थप करिब ५ अर्ब रुपैयाँ निक्षेपबाट घट्नेछ। यसअघि यसरी पैसा जम्मा गर्दा राख्ने र राखिएको दुवै बैंकको निक्षेप दोहोरो गणनाका कारण बढेको देखिन्थ्यो।
पूरा बजेट नआएकाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारी खर्च पनि न्यून हुने देखिन्छ। बढेको ४० अर्ब रुपैयाँमध्ये झन्डै आधा रकम सरकारी खर्चका कारण बैंकमा गएको अनुमान छ। केन्द्रीय बैंक र बैंकहरू दुवै थरी निक्षेप बढेकामा सर्वसाधारणलाई विश्वास दिलाउन चाहन्छन्। विश्लेषकहरूका अनुसार केन्द्रीय बैंक वित्तीय क्षेत्रमा सुधार भएको जस लिन चाहन्छ। बैंकहरू तरलता बढेकाले बढी ब्याज दिन्नौं भन्दै सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, नेपाली सेनाजस्ता संस्थागत निक्षेपकर्ताहरूलाई दबाब दिइरहेका छन्। पछिल्लो समयमा तरलता अभावको फाइदा उठाउँदै यी निक्षेपकर्ताहरूले १५ प्रतिशतसम्म ब्याजदर मागेका थिए। पछि बैंकहरूले अनौपचारिक रूपमा सहमति गरी १२ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेका थिए।
यससँगै बैंक वित्तीय संस्थाले निक्षेपको २० प्रतिशत अनिवार्य रूपमा तरलता राखेपछि चौथो त्रैमासिकमा अभाव कम भएको छ। यसअघि यो व्यवस्था भए पनि कम जरिवानाका कारण बैंक वित्तीय संस्थाले यसको बेवास्ता गरी जरिवाना तिर्न तयार हुन्थे। गत वर्षको माघसम्म तरलता तोकिएबमोजिम राख्न नसके जोखिम भार ० दशमलव ५ प्रतिशतले बढ्थ्यो । तर पछिल्लो समयमा तरलतामा जति प्रतिशत कमी आउँछ सोही प्रतिशत बराबर जोखिम बढ्ने हुँदा बैंकहरू तरलता व्यवस्थापनमा ध्यान दिन थालेका छन्।
स्रोत:http://www.ekantipur.com
No comments:
Post a Comment