खोज्नुस

Sunday, June 20, 2010

अर्थतन्त्रमा सङ्कट छैनः गर्भनर खतिवडा


नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले बाहिर भनिएजस्तो मुलुकको अर्थतन्त्र सङ्कटमा नपरेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको शुक्रबारदेखि सुरु भएको तीन दिने पाँचौ केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै उहाँले आर्थिक वृद्धिदर चार प्रतिशत, औद्योगिक उत्पादन ३ दशमलव ५ प्रतिशत र मूल्यवृद्धि १० अङ्कमा झरेकोले अर्थतन्त्र सङ्कटमा पर्‍यो भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
यो वर्ष आयात वृद्धिदर घटेको तथा वस्तु निर्यातमा समस्या देखिए पनि सेवा निर्यातमा वृद्धि भएको जानकारी गराउँदै गर्भनर खतिवडाले बैङ्कहरुमा तरलता वृद्धि नभएकाले अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो ।
भुक्तानी सन्तुलन घाटामा जाँदैमा मुलुक घाटामा गयो भनेर भन्न नमिल्लने भन्दै उहाँले नेपाली मुद्रामा रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको, विदेशी मुद्रा सञ्चिति विगतको भन्दा घटेको भए पनि हाल वृद्धि हुने क्रममा रहेको जानकारी गराउनुभयो ।

नयाँ पुस्ताको ज्ञान र पुराना पुस्ताको अनुभवलाई लिएर संस्थाको विकास गरिने बताउँदै गर्भनर खतिवडाले मुलुक सङ्घीयताको संरचनामा जाँदा नेपाल राष्ट्र बैङ्कको स्वरूप कस्तो हुने भनेर बहस चलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पेसागत महासङ्घका सचिव प्रेमल खनालले नयाँ बन्ने संविधानमा बैङ्कको स्वरुप कस्तो हुने भन्ने बारेमा बहस हुनुपर्नेमा हालसम्म त्यसो हुन नसकेकोमा गुनासो गर्दै मुलुकको मौदि्रक नीति जनमुखी हुनुपर्ने सुझाव दिनुभयो ।
आयोजक सङ्घका महासचिव राजेन्द्र रिमालले मान्छे फेरिए पनि बैङ्क संरचनाभित्रको विकृति नफेरिएकोले कर्मचारीहरुमा नैराश्यता फैलिएको बताउनुभयो । 

स्रोत: http://www.onlinekhabar.com, २०६७ आषाढ ६ आइतबार 

No comments:

Post a Comment