नेपाल सुनचादी व्यवसायी संघको एक अध्ययनले स्थानीय बजारमा दैनिक ३५ किलो सुन आवश्यक पर्ने देखाएको छ । संघले उसको ३५ जिल्लामा रहेका २ हजार ५ सय सदस्यमार्फत गरेको अध्ययनले यस्तो देखाएका हो। बैशाख शुरुमा सबै शाखालाई पत्र पठाएर संघले उनीहरुलाई दैनिक आवश्यक सुन परिणामको जानकारी गराउन भनेको थियो। 'उनीहरुको माग मिलाएर हामीले दैनिक ३५ किलो सुन आवश्यक रहेको पायौ,' संघका अध्यक्ष तेजरन्त शाक्यले भने । बैशाखमा शुरु भएको अध्ययन जेठ अन्तमा तयार भएको थियो। करिव ७ बर्षअघि गरेको अध्ययनबाट दैनिक २० किलो सुन आवश्यक पर्ने पाइएको थियो । 'अहिले जनसख्या बढेको छ,' शाक्य थप्छन्, 'भित्रने बाटो सिमित भएकोले माग बढेको पाइएको हो।'
यसअघि गोर्खाली लाहुरेबाट धेरै सुन भित्रने गरेको थियो । 'अहिले पूर्वगोर्खाले बेलायतमै बस्न पाउने भएपछि त्यसरी भित्रने परिणामा ९० प्रतिशतभन्दा बढीले घट्यो,' उनले भने, 'यसले पसलबाट हुने सुन विक्री बढाएको छ।'
उनले यस तथ्यांकले भनेको परिणाममा सकेसम्म आयात गर्न दिनुपर्ने बताए । 'तत्काल यो संभव नभए दैनिक २० किलो सुन दिनुपर्छ,' उनले भने । मौद्रीक नीति आउनुअघि गर्भनरसंग कुराकानी भएको भन्दै सिजनमा ३० किलो र अन्य समयमा दैनिक २० किलो सुन आवश्यक रहेको जानकारी गराएको बताए । 'मौद्रीक नीतिले व्यवसायीलाई पनि सुन ल्याउन दिने जनाएको छ,' उनले भने, 'अव बैकले जत्तिकै व्यापारीले दैनिक १० किलो सुन ल्याउन पाउने व्यवस्था गरे बजारको माग धान्न सहयोग पुग्छ।'यस्तै स्थानीय बजार प्रतितोला सुनको मुल्य ४० हजार पुग्ने हल्ला चलेकाले बेच्ने र पुर्न प्रयोग गर्ने प्रथापनि कम भएकाले माग धान्न तत्काल आयात गरिएको सुनमा निर्भर हुनुपरेको उनले बताए । यसअघि बजारमा भएको मागको ३५ प्रतिशत सुन उपभोक्ताबाट आउने गरेकोमा अहिले १० प्रतिशत आउने उनको भनाई छ । नेपालमा लगानीको अन्य क्षेत्र नदेखिएकाले पनि यस्तो भएको हो । 'सेयर बजारमा लगानी भएको छैन,' उनले भने, 'त्यसले गत बर्ष ढिक्का सुन किनेकाले पनि बेचेका छैन्।'
स्रोत:http://www.ekantipur.com
No comments:
Post a Comment