खोज्नुस

Thursday, July 15, 2010

जोखिम उन्मुख बैंकिङ क्षेत्र



केही समयदेखि तरलताको अभाव खेप्दै आएको नेपालको बैंकिङ क्षेत्र थप जोखिमतर्फ उन्मुख देखिएको छ । चालु वर्षको सुरुवातदेखि नै तरलताको अभाव हुँदाहुँदै पनि बैकिङ क्षेत्रले तीव्र दरमा कर्जा प्रवाह गरिरहेको तथ्य नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको तथ्याङ्कमा देखिएको छ । नेपाली अर्थतन्त्रको वास्तविकतासँग नसुहाउने गरी तीव्र दरमा भएको कर्जा प्रवाह तरलता अभावको प्रमुख कारणका रूपमा रहेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका २६ वटा वाणिज्य बैंकहरूले खुद करिब २६ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरे । तर, सोही अवधिमा करिव ६७ अर्ब रुपैयाँ ऋण प्रवाह गरे । गत वर्षको यसै अवधिमा स्थिति ठीक विपरीत थियो । यसरी ६ महिनाको अवधिमा निक्षेप संकलनभन्दा  ४१ अर्ब रुपैयाँ बढी ऋण प्रवाह भएको देखिन्छ । यदि लिएको ऋण अर्थतन्त्रभित्र खर्च भएको छ भने ऋण प्रवाहसँगै निक्षेप पनि बढ्नुपर्ने होे । तर, नेपालको अहिलेको स्थिति त्यस्तो देखिँदैन। यसले के देखाउँछ भने बैंकिङ क्षेत्रबाट प्रवाहित ऋण नेपालभित्र खर्च भएको छैन । उक्त ४१ अर्ब रुपैयाँमध्ये २४ अर्ब रुपैयाँ जति चालु खाता घाटा पूरा गर्न खर्च भएको देखिन्छ भने साढे ११ अर्ब बराबरको रकम नेपाली अर्थतन्त्रमा नगदको रूपमा बढेको देखिन्छ र बाँकी  ६ अर्ब रुपैयाँको स्पष्ट खाका देखिँदैन तर यो बराबरको रकम गैर बैंकिङ च्यानलमार्फत् बाहिर गएको हुन सक्छ । लम्बिँदो राजनीतिक संकमणकाल, अस्तव्यस्त आर्थिक अवस्था, अधोगतिमा रहेका उद्योगधन्धाको स्थितिमा नेपालमा अहिले उत्पादनशील कर्जाको माग हुने कुनै सम्भावना छैन । राजनीतिक एवं आर्थिक जोखिम उच्च छ । यस्तो अवस्थामा जोखिमपूर्ण क्षेत्रमा मात्र कर्जा माग हुन सक्छ तर पनि बैंकिङ क्षेत्रबाट तीव्र दरमा कर्जा प्रवाह भइरहेको छ । गत वर्षभन्दा झण्डै दोब्बर कर्जा प्रवाह गरिएको छ । कर्जा प्रवाह हुनु आफैमा नराम्रो होइन । कर्जा प्रवाहमार्फत् लगानीकर्तालाई लगानीयोग्य साधन उपलब्छ हुन्छ । कर्जा प्रवाहले लगानी बढाउन सहयोग पुर्‍याउँछ, फलस्वरूप उत्पादन र रोजगारीमा सकारात्मक असर पर्दछ । तर, अन्धाधुन्ध कर्जा प्रवाहले भने बैंकिङ प्रक्रियामा संकट ल्याई अर्थतन्त्रलाई तहसनहस पार्छ । विश्वमा अहिलेसम्मको अनुभवले के देखाएको छ भने वित्त संकटदेखि आर्थिक संकट ल्याउने काम उच्चदरको कर्जा प्रवाहले गर्दै आएको छ ।
नेपालका बैंकहरूले प्रवाह गरेको कर्जाको प्रकृतिले यिनीहरूको जोखिमलाई अझ बढी उजागर गरेको छ । क्षेत्रगत रूपमा भएको कर्जा प्रवाहलाई हेर्दा बैंकबाट प्रवाहित कर्जा उत्पादनशील क्षेत्रतर्फ छैन । कुल गाहस्थ्र्य उत्पादनमा एक तिहाइभन्दा बढी अंश ओगटेको कृषि क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल प्रवाहित कर्जाको शून्य दशमलव शून्य दुई  प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । सबैभन्दा बढी १४ अर्ब रुपैयाँ -२१ प्रतिशत) घरजग्गामा कर्जा प्रवाह गरिएको छ । त्यसपछि थोक तथा खुद्रा व्यापारमा करिब १२ अर्व रुपैयाँ -१७ प्रतिशत)  कर्जा प्रवाह गरिएको छ । सबै खालका उद्योगधन्धामा गरेर करिब ८ अर्ब रुपैयाँ -१२ प्रतिशत) मात्र ऋण प्रवाह भएको छ । यसरी चालु आर्थिक वर्षमा रियल स्टेटतर्फ उच्च दरमा कर्जा प्रवाह भएको छ । सायद घरजग्गाको मूल्य सधैँ बढ्छ भन्ने मान्यताबाट प्रभावित भएको देखिन्छ जुन सधैँ सत्य हुँदैन । उच्च कर्जा प्रवाहले गर्दा नेपालका बैंकहरूको कर्जा निक्षेप अनुपात २०६६ असारमा ८१ प्रतिशत रहेकोमा २०६६ पुस मसान्तमा ८९ प्रतिशत पुगेको छ । जुन सामान्यत्या ७५ प्रतिशतभन्दा कम हुनुपर्ने हो । यसको अर्थ हुन्छ सय रुपैयाँ निक्षेपमा ८९ रुपैयाँ कर्जा लगानी गरेका छन् । साढे पाँच रुपैयाँ नेपाल राष्ट्र बैंकमा अनिवार्य बचत गर्नुपर्ने हुन्छ । यसरी सय रुपैयाँ निक्षेपका लागि नेपालका बैंकहरूले औसतमा साढे पाँच रुपैयाँ लिएर दैनिक कारोबार गरिरहेका छन् । यसले गर्दा अलिकति निक्षेप संकलनमा कमी र समयमा कर्जा भुक्तानी नभएमा तरलतामा चाप परिहाल्ने स्थिति छ । जुन अहिले यी बैंकहरूले झेलिरहेका छन् ।
अहिले वाणिज्य बैंकहरूसँग नेपालीहरूको करिब ५ सय ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप रहेको छ, जसमध्ये ३९ प्रतिशत मात्र मुद्धति निक्षेपमा छ । यसको मतलब ६१ प्रतिशत रकम बचतकर्ताले कुनै पनि बेला निकाल्न सक्ने स्थितिको छ । तर, यिनीहरूसँग कुल तरल सम्पति भने १ सय ६५ अर्व रुपैयाँ रहेको छ । यी सबै तथ्याङ्कले के देखाउँछ भने नेपालका बैंकहरू अर्थतन्त्र शिथिल रहेको अवस्थामा पनि नाफा कमाउने दौडमा लागेका छन् । सामान्यतया अल्पकालीन ऋण प्रवाह गर्नुपर्नेमा वाणिज्य बैंकहरू रियल स्टेट जस्तो दीर्घकालीन प्रवृत्तिको अनुत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी बढाउनुले बंैकिङ क्षेत्रमा संकट आउने सम्भावना बढेर गएको छ । वास्तवमा अहिले नेपाली अर्थतन्त्रले धान्नै नसक्ने गरी वित्तीय क्षेत्रको विस्तार भइरहेको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबीचको भिन्नता साँघुरिँदै गएको छ । यसले गर्दा प्रतिस्पर्धा बढेको छ र नाफाको अवसर घटेको छ । सहरका चोकहरू बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूले ढाक्न लागेका छन् । यस्तो अवस्थामा उच्च नाफा कायमै राख्न बैंकिङ क्षेत्र जोखिमपूर्ण क्षेत्रतर्फ लागेको देखिन्छ । तर, ऋण असुलीको फितलो कानुनी व्यवस्था र बढ्दो राजनीतिक संक्रमणकालले गर्दा ऋण असुली सहज छैन । यसले गर्दा खराब ऋणको मात्रा बढ्ने र बैंकिङ क्षेत्रमा संकट आउने सम्भावना प्रबल रहेको छ ।
वाणिज्य बैंकहरूको नाफाप्रेरित कर्जा लगानीले सिर्जना गरेको तरलता अभावलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको अल्पकालीन तरलता प्रवाह गरिसकेको छ । तर, वाणिज्य बैंकहरू दीर्घकालीन प्रकृतिको ऋण लगानी गरी दीर्घकालीन प्रकृतिको तरलता अभावमा फसेकाले उक्त अल्पकालीन तरलता प्रवाहले तरलता अभाव घटाउन सकेको छैन । निक्षेप बिमा नभएको अवस्थामा वाणिज्य बैंकहरूले सर्वसाधारणको निक्षेपमा लिएको यो जोखिमपूर्ण यात्राले ठूलै संकट ल्याउने देखिन्छ । अन्य विकास बैंक र वित्त कम्पनीहरूको प्रवृत्ति पनि वाणिज्य बैंकहरूको भन्दाखासै फरक छैन ।
घरजग्गामा गलत ढंगबाट कर्जा प्रवाह गरी ऋण असुली नहुँदा तरलताको अभावले लामो इतिहास भएका बादशाहरूपी अमेरिकी बैंकहरू तासको महलझैँ पतन भएको घटना अझै ताजै छ । यसबाहेक अमेरिकी वित्त संकटले गर्दा अहिलेसम्म साना-ठूला गरी १ सय ९६ वटा बैंकहरू बन्द भैसकेका छन् । नेपालका बैंकहरू अजम्बरी छन् भनेर भन्न सकिन्न । अहिलेको कर्जा प्रवाहको प्रकृति हेर्दा नेपालका अन्य बैंकहरूले पनि नेपाल विकास बैंकको जस्तो नियति भोग्न सक्ने सम्भावना बढेको छ ।
अमेरिकामा त निक्षेप बिमा प्रणाली भएकाले सर्वसाधारणको निक्षेप सुरक्षित रह्यो र निक्षेप निकाल्न लाइन लाग्नुपर्ने स्थिति आएन तर नेपालमा यस्तो स्थिति छैन । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेको झन्डै ७ खर्ब रुपैयाँ बराबरको निक्षेपको भविष्य जोखिममा छ । यी संस्थाहरूको व्यवस्थापन सम्हालेर बसेका व्यक्तिहरूको हातमा छ । यस अवस्थामा नेपालमा पनि निक्षेप बिमा लागू गर्नुपर्ने र केन्द्रीय बैंकको नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी पार्नुपर्ने खाँचो छ

नेपाल-बंगलादेश व्यापार वार्ता आजदेखि

नेपाल र बंगलादेशबीच बंगलादेशको राजधानी ढाकामा बुधबारदेखि सचिवस्तरीय द्विपक्षीय व्यापार वार्ता हुने भएको छ। बितेको वैशाख २० गते हुने भनिएको वार्ता नेपालको राजनैतिक अवस्थाका कारण अन्तिम समयमा आएर स्थगित हुन पुगेको थियो। वैशाखमा स्थगित भएको वार्ता बुधबारदेखि सुरु हुँदैछ,' नेपाली टोलीको नेतृत्व गर्ने वाणिज्य सचिव पुरुषोत्तम ओझाले नागरिकसँग भने ‘दुवै मुलुकबीच देखिएका व्यापारिक समस्या समाधान गर्न नयाँ उपायहरूको खोजी गरिनेछ।' बिहीबार सकिने वार्तामा सहभागीका लागि ओझाको नेतृत्वमा नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ। गएको जेठ दोस्रो साता नेपालमा भएको सहसचिवस्तरीय वार्तामा वैशाख २० देखि ढाकामा सचिवस्तरमा वार्ता गर्ने सहमति भएको थियो। वार्तामा नेपालले भन्सार छुट, नेपाली ट्रक तथा कन्टेनरलाई बंगलादेशसम्मको सहज पारवहन सुविधा र रोहणपुर-सिंहवाद रेल मार्ग प्रयोगमा ल्याउनेलगायत विषय मुख्य एजेन्डाका रुपमा उठाउने तयारी गरेको छ।


सन् १९७६ मा नेपाल-बंगलादेशबीच वाणिज्य तथा पारवहन सन्धि भए पनि यसमा भन्सार सहुलियत दिने विषय नसमेटिएकाले दुवै देशलाई नयाँ सन्धि गर्नुपर्ने आवश्यकता छ। त्यसअनुरुप सन्धि परिमार्जन गरी भन्सार सुविधासहितका प्रावधान थप्ने उद्देश्यले विभिन्न समयमा वार्ता हुँदै आएको छ। सहमति बन्न सकेको छैन। गत जेठको सहसचिवस्तरीय वार्तामा नेपालले १ सय ४६ वस्तुगत समूहका कृषिजन्य वस्तुमा भन्सार छुट दिन बंगलादेशसँग प्रस्ताव राखेको थियो। बंगलादेशले पनि १ सय ८४ भन्दा बढी वस्तुमा भन्सार सुविधाको माग राखी नेपालसमक्ष सूची प्रस्तुत गरेको थियो। यसमध्ये औद्योगिक उत्पादन, सिमेन्ट, मेसनरी, ट्रान्सफर्मरलगायतमा भन्सार सुविधा माग गरिएको थियो। तर, नेपाल भारतबीचको वाणिज्य सन्धिका कारण नेपालले यस्तो सुविधा दिन सकेको थिएन।
बंगलादेशले आफ्नो माग पूरा नहुने देखेपछि नेपालको पनि सूची लामो भएको बहाना गरेर माग अस्वीकार गरेको थियो। उसले नेपाललाई सूची घटाएर पुन : वार्तामा ल्याउन भनेको थियो। अहिलेको वार्ताका लागि नेपालले केही वस्तुको सूची कम गरेको स्रोतले बतायो। अहिले नेपाली कृषि तथा फलफुलजन्य वस्तुमा बंगलादेशले ४० प्रतिशतसम्म कर लिने गरेकाले नेपालले भन्सार सुविधा माग गर्दै आएको हो। नेपाली व्यवसायीले ४० प्रतिशत भन्सार शुल्क चर्को भएको भन्दै लामो समयदेखि घटाउने पहल गर्न सरकारसित माग गर्दै आएका छन्। व्यवसायीहरूले बंगलादेशले नेपाली वस्तुलाई अन्य छिमेकी मुलुकसरह भन्सार सुविधा नदिएको आरोप लगाउँदै आएका छन्। ‘यो वार्तामा दुबै मुलुकले पेस गरेको सूचीमा थप छलफल गरी सहमतिमा पुग्ने आशामा छौं,' ओझाले भने। यसपटकको वार्तामा पारवहन सम्झौताबारेमा पनि छिनोफानो गर्ने लक्ष्य नेपालको छ। सन् १९७६ मा वाणिज्य तथा पारवहन सन्धि भए पनि हालसम्म यातायात कार्यविधि बनेको छैन। यसको अभावमा द्विपक्षीय व्यापारमा पटकपटक समस्या आउने गरेको छ।
‘दुई मुलुकबीच व्यापार नबढनुमा पारवहन सुविधा पनि प्रमुख भएकाले यसको सहमतिमा सक्दो जोड दिने हाम्रो तयारी छ,' वाणिज्य स्रोतले भन्यो। नेपाली सामान बोकेका ट्रक तथा कन्टेनरलाई बंगलाबन्ध नाकाभन्दाभित्र बन्दरगाह, बजार, औद्योगिक स्थान र अन्य सामुन्द्रिक नाकासम्म निर्वाध पहुँचका लागि प्रस्ताव गर्ने नेपालको तयारी छ। फूलबारी-बंगलाबन्ध सडक पनि प्रभावकारी उपयोग हुन सकेको छैन। बंगलादेशले सन् १९७० मा व्यापारिक प्रयोजनका लागि यो सडक प्रयोग गर्न अनुमति दिएको थियो। तर, अहिले उपयोगमा आएको छैन। भारतका कारण पूर्वी नाका काकडभिट्टाबाट जाने ट्रक तथा कन्टेनरले भारतको फूलबारीमा सामान झार्नुपर्ने बाध्यता छ। फुलबारी नाकाबाट बंगलादेशका ट्रक तथा कन्टेनरले बंगलाबन्दसम्म सामान लैजान्छन्। भारतीय सहमतिविना नेपाली ट्रक तथा कन्टेनर फूलबारीभन्दा अगाडि जान सक्दैनन्।
नेपालले यो वार्तामा रोहणपुर - सिंहवाद रेलमार्गबाट व्यापार गर्ने वातावरणका लागि पनि प्रस्ताव गर्ने तयारी गरेको थियो। यो भारतीय रेल मार्ग हुँदै वीरगन्ज सुख्खा बन्दरगाहसँग जोडिएको ब्रोडगेज लाइन हो।

Sunday, July 11, 2010

भारतिय रुपैयाको विनियम दर फेरबदल नहुने

राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नेपाली र भारतीय रुपैयाँबीचको विनिमय दरमा फेरबदल नहुने घोषणा गरेका छन्। विभिन्न क्षेत्रबाट विनिमय दर परिवर्तन हुन लागेको हल्लाले भारतीय रुपैयाँ लुकाएर राख्ने प्रवृत्ति बढिरहेका बेला खतिवडाले यसबाट नेपाललाई कुनै फाइदा नहुने बताए। "नेपाल र भारतबीचको विनिमय प्रणाली यही रहन्छ, र दर पनि यही रहन्छ," आर्थिक पत्रकारहरूसँग शुक्रबार भएको छलफलमा उनले भने। भारतको सय रुपैयाँ बराबर अहिले १ सय ६० नेपाली रुपैयाँ छ। लामो समयदेखि नेपाली र भारतीय रुपैयाँबीच रहेको यो विनिमय दर परिवर्तन हुन लागेको चर्चा चलेको छ। यसले सीमावर्ति सहरमा भारतीय रुपैयाँको कालोबजारी भइरहेको छ। 

भारतमा मूल्य वृद्धिदर दुई अंक नाघ्न आँटेको र नेपालमा दुई अंकबाट घट्न लागेको अवस्थामा विनिमय दर परिवर्तन गर्दा नेपाललाई कुनै फाइदा नहुने खतिवडाले बताए। 'विनिमय दर फेर्ने विषयमा अध्ययन, विश्लेषण गरेका छैनौं, अहिलेको राजनीतिक परिदृश्यमा यो सम्भव छैन,' उनले भने। विनिमय दर बढ्ने आशामा भारतीय रुपैयाँ घरमा थुपारेर राख्नेले बैंकबाट पाउने व्याज मात्र गुमाउने गभर्नरले बताए। सरकारको नीति तथा कार्यक्रम र बजेट आउन ढिलाइ भए पनि मौद्रिक नीति आउन समस्या नपर्ने उनले उल्लेख गरे। 'त्रिवर्षीय योजनाले निर्देशित गरेको आधारमा सरकारको नीति तथा कार्यक्रम रहने हुँदा मौद्रिक नीति ल्याउन कुनै समस्या पर्दैन,' गभर्नरले भने। "पुँजीको लागत महंगो भयो भने उत्पादनमूलक उद्योगबाट उत्पादित वस्तु कसरी महंगो हुन नदिने भन्ने हाम्रो मौद्रिक नीतिको चासो छ," उनले भने। आउँदो मौद्रिक नीति यसैमा केन्द्रित रहने उनले संकेत गरे।

मौद्रिक नीतिमा सेयर धितो राखेर कर्जा दिने मार्जिन लेन्डिङ परिमार्जन गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। बैंकहरू आपसमा गाभिने (मर्जर) हुनुपर्छ भन्ने राष्ट्र बैंकको धारणा रहेको उनले प्रष्ट पारे। 'बैंकहरू धेरै भए भन्ने मनोविज्ञान छ, त्यसले मर्जरमा जान कसरी गर्ने, के गर्ने भनेर आगामी दिनमा छलफल जारी राखिनेछ,' उनले भने। मर्जरले नयाँ संस्थाको प्रवेशलाई स्थान मिल्नुका साथै भएकाहरूबीच प्रतिस्पर्धा हुने खतिवडाले बताए।

सुनचाँदीको मूल्यमा ओरालो लाग्यो



यस साता सुनको मूल्य प्रतितोला ३५ हजार रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा भाउ तल झरेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको मूल्य गत सातादेखि ओरालो लाग्न थालेको हो । यसअघि प्रतितोला सुनको मूल्य ३६ हजार रुपैयाँभन्दा माथि पुगेको थियो। 


संघका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला सुनको मूल्य ३५ हजार ४ सय र प्रतिदस ग्राममा ३० हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला सुनको मूल्य ३५ हजार १ सय -दस ग्राममा ३० हजार ९५० रुपैयाँ) कायम भएको थियो।
यस साताको दोस्रो दिन सोमबार प्रतिदस ग्राम सुनको मूल्य ३० हजार ४ सय ३५ रुपैयाँ कायम भएको थियो । मंगलबार घटेर दस ग्राममा ३० हजार ३ सय ५० रुपैयाँ कायम भयो । बुधबार अझ ओरालो लागेर दस ग्राम सुन ३० हजार १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार दस ग्राम सुनको बजार मूल्य  ३० हजार ३ सय ५ रुपैयाँ कायम भयो ।
यस साता चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतिदस ग्राम चाँदीको मूल्य ४ सय ८० रुपैयाँ रहेकोमा शुक्रबार घटेर दस ग्राममा ४ सय ७३ रुपैयाँ निर्धारण भयो 

Friday, July 9, 2010

विश्वको आर्थिक बृद्धिदर बढ्ने अनुमान

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले विश्वको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको छ।कोषले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत रहने अनुमान गरेको छ। गतवर्ष विश्वव्यापी रुपमा आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको थियो।
यो वर्षको पहिलो त्रैमासिकमा आर्थिक क्षेत्र बलियो देखिएको थियो। यसमा सबैभन्दा बढी एसियाको अर्थतन्त्रमा आएको सुधारले आर्थिक वृद्धिदर बलियो भएको हो। बेलायतको आर्थिक वृद्धिदर पहिला गरिएको अनुमानलाई सच्याउँदै कम हुने कोषले जनाएको छ। यही अवधिमा विकसित मुलुकको अर्थव्यवस्था अझै सुस्त हुने कोषले जनाएको छ। कोषले विकसित मुलुक मन्दीबाट भने बाहिर आइरहेको दाबी छ। कोषले आर्थिक संकटको बादल अझै मडारिरहेको चेतावनी दिएको छ। 

ग्रिस र युरोप अन्य विकसित मुलुकको सरकारी खर्च नियन्त्रण गर्ने चुनौती रहेको कोषले जनाएको छ। दक्षिण एसियामा भारतको आर्थिक वृद्धिदर ९ दशमलव ४ र चीनको १० दशमलब ५ प्रतिशत रहने कोषको अनुमान छ।