विवाहका लागि सुन किन्ने योजना बनाएका उपभोक्ताले सुनका लागि बजेट बढाउनुपर्ने भएको छ । दुई सातादेखि लगातार बढेको सुनको मूल्यले मंगलबार फेरि नयाँ रेकर्ड कायम गरेको हो । सुन मूल्य निर्धारणको जिम्मा पाएको सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य ३६ हजार २ सय -प्रतिदस ग्राम ३१ हजार ३५) रुपैयाँ पुगेको छ । यो मूल्यले गत बुधवारको रेकर्ड तोडेको हो । गत बुधबार प्रतितेला सुनको मूल्य ३६ हजार ५० -दस ग्राममा ३० हजार ९ सय १०) रुपैयाँ थियो । मंगलबार सोमबारभन्दा तोलामा ५ सय ५० रुपैयाँ बढेर सुनको मूल्य निर्धारण भएको हो । सोमबार प्रतितोला सुनको मूल्य ३५ हजार ६ सय ५० -प्रतिदस ग्राममा ३० हजार ५ सय ६५) रुपैयाँ कायम भएको थियो ।
'अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्य र अमेरिकी डलरको दाँजोमा भारतीय रुपैयाँसँगै नेपाली रुपैयाँ पनि कमजोर भएकाले स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो,' संघका अध्यक्ष तेजरत्न शाक्यले भने । उनका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिअउन्स सुनको मूल्य १ हजार २ सय १८ डलर रहेकामा मंगलबार बढेर अउन्सको १ हजार २ सय ३७ डलर कायम भयो ।
सुन आयात कोटा दोब्बर
सुनचाँदी व्यवसायीले सुन आयातको कोटा कम भएकाले बजारमा माग धान्न नसकेको गुनासो गरिरहेको बेला राष्ट्र बैकले आयातको कोटा दोब्बर बनाएको छ ।
राष्ट्र बैंकले सोमबार परिपत्र गरी यसअघि रहेको दैनिक १० किलो आयात गर्न सक्ने व्यवस्थालाई बढाएर २० किलो पुर्याएको जनाएको छ । सुनको आयात उच्च हुँदा मुलुकको शोधानान्तर स्थितिमा नकारात्मक असर परेको भन्दै सरकारले केही समय रोक लगाएको सुन आयात भन्सार दर बढाएर दैनिक १० किलो आयात गर्ने गरी खुला गरेको थियो । केन्द्रीय बैंकले सोमबार यस्तो निर्णय गरेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार राष्ट्र बैंकले सोमबार परिपत्र गरेर आयात कोटा बढाएको जानकारी गराएको हो । राष्ट्र बैंकले बैंकर्स एसोसिएसनको सिफारिसमा वाणिज्य बैंकले सुन आयात गर्न सक्ने व्यवस्था गरेको छ । अहिले एनआइसी, एनएमबी, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्र्रे, नबिल र प्राइम बैंकले सुन आयत गरेर बजारमा बिक्री गरिरहेका छन् ।
'कम्तीमा असारसम्म दैनिक ३० किलो सुन आयात गर्न भनेका थियौं,' अध्यक्ष शाक्यले भने, 'जेठदेखि विवाहको सिजन सुरु भएकाले बजारमा सुनको अभाव देखिन थालेको छ । बजारमा रहेको अहिलेको अभावको कम गर्न यसले सहयोग गर्छ ।' अहिले स्थानीय बजारमा दैनिक १० किलो सुन भित्रिरहेको अवस्थामा उच्च विन्दुमा पुगेको मूल्यले अभाव गहिरिन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
उनका अनुसार डलर मजबुद भएकाले नेपाली रुपैयाँमा खरिद गर्नेले सुन किन्दा बढी पैसा तिर्नुपरेको र युरोपेली मुलुकमा देखिएको आर्थिक संकटले मूल्य बढेकाले स्थानीय बजारमा माग बढ्न नसक्दा बढाइएको कोटाले दैनिक माग धान्छ ।
उनका अनुसार जेठ महिनाको सुरुमा सुनको माग दैनिक २५ किलोसम्म पुगेको थियो । गत साता आकासिएको मूल्यले अहिले १० किलोभन्दा केही बढी सुन बिक्री भइरहेको शाक्यले बताए ।
'मूल्यमा सुधार आए विवाहको सिजनमा दैनिक ३० किलोसम्म सुन विक्री हुन सक्छ,' उनले भने ।
स्रोत: http://www.ekantipur.com २०६७ जेष्ठ २६
No comments:
Post a Comment