यस आर्थिक वर्षमा औसत १० दशलमव ६ प्रतिशतले बजार भाउ बढ्ने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गर्न मागिएको प्रक्षेपणमा केन्द्रीय बैंकले अर्थ मन्त्रालयलाई मूूल्य वृद्धि दोहोरो अंकमै रहने जानकारी दिएको हो ।
चालू आर्थिक वर्षको पहिलो ९ मध्ये ६ महिनामा दोहोरो अंकले बजार मूल्य बढेको छ । 'यस वर्ष पनि मुद्रास्फीति दोहोरो अंकमै रहने देखिन्छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने । गत वर्ष १३ दशलमव २ प्रतिशतले बजार भाउ बढेकामा यस वर्ष करिब थप ११ प्रतिशतले बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
'हाम्रो मूल्य वृद्धि गणना गर्दा सबै उपभोग्य वस्तु समेट्न सकिएको छैन,' अर्थविद विश्वम्भर प्याकुरेलले भने, 'त्यसकारण वाषिर्क औसतभन्दा पनि मूल्य वृद्धिदर निक्कै बढी हुने हुँदा सर्वसाधारणलाई मार परिरहरेको छ ।'
विश्व बैंकले भने यस वर्ष सरकारी प्रक्षेपणभन्दा १ प्रतिशत विन्दुले बढी मुद्रास्फीति रहने प्रक्षेपण गरेको छ । गत साता दक्षिण एसियासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै बैंकले नेपालको मुद्रास्फीति यस वर्ष ११ दशमलव ८ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
यस वर्ष खाद्य पदार्थको मूल्य औसत १८ प्रतिशतले बढेको छ भने चिनीजन्य पदार्थको बजार भाउ करिब ४६ प्रतिशतले बढेको छ । तरलताको अभावसँगै मूल्यमा देखिएको यस चापले अर्थतन्त्रमा जोखिम बढ्दै गएको संकेत गरेको
छ । मंसिरदेखि बजारमा तरलताको ठूलो अभाव छ । तरलता व्यवस्थापनका लागि एकैपटकमा २८ अर्ब रुपैयाँसम्म रिपोमार्फत बजारमा रकम प्रवाह गरिएको थियो । अझै करिब १४ अर्ब रुपैयाँ बजारमा छ ।
साधारणतया बजारमा अधिक तरलता हुँदा मूल्य बढ्ने गर्छ । तर तरलता अभाव, बढ्दो व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलनसँगै मूल्य पनि बढिरहने अवस्थाले अर्थतन्त्र जोखिममा पर्दै गएको देखाउँछ । 'पछिल्लो समयमा धेरै उतारचढाव भए पनि बृहत् आर्थिक परिसूचक ठिकै भएकाले समस्या कम थियो,' प्याकुरेलले भने, 'तर अहिले बृहत् परिसूचक पनि प्रभावित भएकाले अर्थतन्त्र ठूलो जोखिममा छ ।' ३ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिमा दोहोरो अंकको मुद्रास्फीतिलाई पनि विज्ञहरू अस्वाभाविक ठान्छन् ।
पछिल्लो दुई वर्षमा मूल्य निकै बढेको छ । गत वर्षको मूल्य वृद्धि १७ वर्षयताकै उच्च थियो । राष्ट्र बैंकका अनुसार आगामी आर्थिक वर्षको सुरुका केही महिना दोहोरो अंककै मूल्य वृद्धि रहनेछ । गैरवित्तीय कारणले मूल्य बढिरहेकाले केन्द्रीय बैंक पनि मौदि्रक उपायद्वारा मूल्य नियन्त्रण गर्न सक्ने अवस्थामा छैन । प्रारम्भिक प्रक्षेपणमा बढी मूल्यमा चाप पर्ने देखिए पनि सरकार आफू लोकपि्रय बन्न बजेटमा कम रहने प्रक्षेपण गर्छ । पछिल्लो ५ वर्षको तथ्यांक अनुसार प्रक्षेपित र वास्तविक मूल्य वृद्धिदरमा ठूलो फरक देखिएको छ ।
स्रोत: http://www.ekantipur.com, २०६७ जेष्ठ २८
No comments:
Post a Comment