इलाममा , उत्पादित ह्वाइट टी (सेतो चिया)को माग युरोपेली बजारमा बढेको छ। ह्वाइट टी तयार गर्ने नेपालको एक्लो उद्योग हिमालयन सांग्रिलाले मागअनुसारको उत्पादन गर्न नसकेको जनाएको छ। साँखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक समिति सदस्य कमल मैनालीले अन्तर्राष्ट्रिय बजारमा प्रसिद्धी कमाएको चिनियाँ ह्वाइट टीभन्दा उच्च पहाडी क्षेत्रमा उत्पादित साँखेजुङको ह्वाइट टी उपभोक्ताहरुले मन पराउन थालेको बताए। 'यहाँको ह्वाइट टी जर्मनीमार्फत युरोप र अमेरिकामा खपत भइरहेको छ। माग बढेकाले उत्पादन पनि बढाउन पनि कोसिस गरिरहेका छौं,' उनले भने।
हिमालयन सांग्रिलाले गुणस्तरीय चियापत्ति तयार गर्नका लागि प्रोत्साहन गर्दै किसानलाई चार गुणा बढी मूल्य पनि दिन थालेको छ। 'अरू कारखानाले मुश्किलले प्रतिकिलो २५ रुपैयाँ दिन्छन् तर हिमालयन सांग्रिलाले १ सय २५ रुपैयाँ दिन थालेको छ,' स्थानीय जीवन राईले भने। हिमालयन सांग्रिलाले गत वर्ष प्रतिकिलो १सय १० रुपैयाँमा चियापत्ति किनेको थियो।
ह्वाइट टीका लागि किसानले विषादी प्रयोग नभएको एक पात र एक सुइरोको पत्ति तयार गर्नुपर्छ। अरू अर्थोडक्स चियाका लागि दुई पात, एक सुइरोको पत्ति तयार गर्नुपर्छ। हरियो चियापत्तिलाई नै फरक विधिले प्रशोधन गरी सेतो चिया तयार पारिन्छ। एक पात र एक सुइरोको पत्ति टिप्दा छिटो नयाँ मुना पलाउनाले किसानलाई फाइदा हुने हिमालयन सांग्रिलाको दाबी छ।
हिमालयन सांग्रिलाले किसानमा आचारसंहिता लागु गरेर गुणस्तरीय चियापत्ति तयार गर्न प्रोत्साहित गरेको छ। 'रासायनिक मल र विषादी प्रयोग भएको चिया युरोपेली बजारमा बिक्री गर्न सकिँदैन। त्यसैले गुणस्तरीय चियापत्ति तयार गर्न हामीले यहाँ आचारसंहिता लागु गरेका हौं,' हिमालयन सांग्रिलाका प्रवन्धक आरसी मैनालीले भने। त्यस कारखानालाई पत्ति बिक्री गर्ने साँखेजुङ, शान्तिडाँडा, पुवामझुवा र मंगलबारे गाविसका करिब नौ सय किसानले तीन वर्षअघिदेखि जैविक चिया उत्पादन गर्न थालेका हुन्।
हिमालयन सांग्रिलाले तीन वर्षअघिदेखि ह्वाइट टी उत्पादन गर्न थालेको थियो। कारखानाले गतवर्षसम्म वार्षिक दुई हजार किलोमात्र ह्वाइट टी तयार गरेको थियो। 'हामीलाई बजारको समस्या नभएको सकेसम्म धेरै ह्वाइट टी तयार गर्नुपरेको छ। त्यसैले किसानले गुणस्तरयुक्त चियापत्ति जति धेरै ल्याउँछन्, उति प्रशोधन गर्छौं,' प्रबन्धक मैनालीले भने।
प्रालिले उत्पादनको मात्रा र गुणस्तर बढाउन भर्खरै ह्वाइट टी प्रशोधन प्लान्ट पनि विस्तार गरेको छ। प्रबन्धक मैनालीले ५४ लाख १४ हजार नौ सय ३४ रुपैयाँको लागतमा प्लान्ट विस्तार गरेका जानकारी दिए। उनले प्लान्ट विस्तारका लागि कमर्सियल एग्रिकल्चर एलाएन्सले १४ लाख, ७१ हजार आठ सय ५४ रुपैयाँ सहयोग गरेको बताए।
स्रोत्:http:// www.nagariknews.com, २०६७ जेष्ठ २०
No comments:
Post a Comment