नेपालले निर्यात प्रयोजनका लागि तुलनात्मक लाभ भएका १९ वस्तु पहिचान गरेको छ । उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजारका आधारमा वाणिज्य मन्त्रालयले १२ वस्तु र ९ सेवा क्षेत्रको पहिल्याएको हो ।
सम्भावित उत्पादनहरूमा ७ वटा कृषि र कृषिजन्य वस्तु छन् । अलैंची, अदुवा, मह, दाल चिया, चाउचाउ र औषधिजन्य जडिबुटी तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनका रूपमा लिइएको छ । पछिल्ला वर्षहरूमा अलैंची, दाल र चियाले राम्रो अन्तर्राष्ट्रिय बजार लिइरहेका छन् । गत वर्ष करिब २ अर्ब रुपैयाँको अलैंची निर्यात भएको थियो भने करिब ४ अर्ब रुपैयाँ बराबरको दाल बंगलादेश मात्रै निर्यात भएको थियो ।
यी वस्तुहरूको सम्भाव्यता र निर्यात बढाउन आवश्यक रणनीति समेटिएको राष्ट्रिय व्यापार विस्तार रणनीति (एनटिआइएस) प्रतिवेदन प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार सार्वजनिक गरेका हुन्् । कार्यक्रममा प्रधानमन्त्रीले निर्यात विस्तारका लागि सुझाएका प्रस्ताव सरकारले कार्यान्वयन गर्ने बताए ।
'सरकार एनटिआइएसले दिएको सुझाव कार्यान्वयन गर्न र यससँग मिल्ने नीति निर्माण गर्न तयार छ,' उनले भने । यसैगरी अध्ययनले ५ वटा हस्तकलाका वस्तुलाई नेपालको सम्भाव्यता भएका वस्तुका रूपमा देखाएको छ । जसमा हाते कागज, चाँदीका गहना, फलाम-स्टिल, पस्मिना र ऊनी उत्पादन छन् ।
तुलनात्मक लाभ भएका सेवामा क्षेत्रमा अध्ययनले पर्यटन र श्रम उद्योगलाई प्रमुखता दिएको छ । यसैगरी सूचना प्रविधिमा बिपिओ, स्वास्थ्य, शिक्षा,, इन्जिनियरिङ र जलविद्युत् छन् ।
यससँग सरकारले अन्य ५ उत्पादनलाई पनि तुलनात्मक लाभ भएको वस्तुका रूपमा प्रस्तुत गरेको छ । ट्रान्जिट व्यापार, चिनी, सिमेन्ट, डेरी उत्पादन र टान्सफरमरलाई पनि सम्भावना
भएका वस्तुको सूचीमा अध्ययनले राखेको छ । यी वस्तुहरू उत्कृष्ट १९ मा नपरे पनि सरकारले ध्यान दिए निर्यात सम्भावना रहेका वस्तु हुने जनाइएको छ ।
'एनटिआइएस कार्यान्वयनका लागि सबै दातृ निकायलाई सहयोग गर्न आग्रह गर्छु,' वाणिज्यमन्त्री राजेन्द महतोले भने । मुख्य सचिव माधव घिमिरेले पनि सरकारको राष्ट्रिय विकास कार्यक्रममा एनटिआइएसले देखाएका वस्तुको प्रवर्द्धन समेटिएको जनकारी दिए । 'यो सरकारको विकास एजेन्डामा छ,' उनले भने ।
एसियाली अतिकम विकसित मुलुकमध्ये उल्लेख्य व्यापार विस्तार गरिरहेको कम्बोडियाका वाणिज्य सचिव पान सोरासक आफ्नो देशमा व्यापार विस्तारमा एकीकृत कार्यक्रम (स्वाप) लागू गरिएको जानकारी दिए । 'व्यापारका लागि सहायता कार्यक्रमको उच्चतम उपयोग गरी निजी क्षेत्र र समग्र आम्दानी बढाउन कम्बोडिन सरकार प्रतिबद्ध छ,' उनले भने ।
अतिकम विकसित देशहरूलाई व्यापार विस्तारका लागि सहायता दिने संयन्त्र इआइएफकी प्रतिनिधि क्रिस्टिन कउसले नेपालको प्राथमिकतामा सहयोग गर्ने बताइन् । वाणिज्य सचिव पुरुषोत्तम ओझाले अध्ययनले दिएका सुझाव कार्यान्वयन गरिने बताए ।
No comments:
Post a Comment