आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वाषिर्क साधारणसभा गर्नुपर्नेर्े भए पनि नेपाल स्टक एक्सचेन्जले ११ औं महिनामा गरेको छ । आर्थिक वर्ष २०६६/०६७ सकिन लाग्दा अघिल्लो वर्षको साधारणसभा एक्सचेन्जले जेठ २८ गते गरेको हो ।
धितोपत्र बजार सञ्चालन नियमावली २०६४ अनुसार 'प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र उक्त आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरणका साथै उक्त आर्थिक वर्षमा गरेको काम कारबाहीसम्बन्धी वाषिर्क प्रतिवेदन' धितोपत्र बोर्डलाई बुझाउनुपर्ने हुन्छ । कम्पनी ऐनअनुसार एक्सचेन्जले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्छ ।
सूचीकृत कम्पनीले समयमै साधारणसभा नगरी विवरण नबुझाउँदा कारबाही गर्ने एक्सचेन्ज आफैंले साधारणसभा ढिलो गर्दा उसप्रतिको विश्वास घट्ने विश्लेषकहरू बताउँछन् ।
'एक्सचेन्जलाई पनि हामीकहाँ नियामककै रूपमा हेरिन्छ,' सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले भने, 'सूचीकृत हुने कम्पनीलाई नेप्सेले समयमै साधारणसभा गर भन्ने तर आफैं नगर्ने देखिन्छ ।' यसअघिकावर्षमा पनि नेपाल स्टक एक्सचेन्जले समयमै साधारणसभा नगरेको उनी बताउँछन् ।
एक्सचेन्जले दिएको विवरणअनुसार आर्थिक वर्ष २०६५/०६६ मा खुद नाफा ८ करोड ५४ लाख रुपैयाँ भएको छ । यो अघिल्लो आवको भन्दा २० दशमलव ४५ प्रतिशत बढी हो ।
मुनाफामा वृद्धि आए पनि एक्सचेन्जले लाभांश भने वितरण नगर्ने जनाएको छ । ०६४/६५ मा नेप्सेले मुनाफाको २० प्रतिशत लाभांश दिएको थियो । संस्थाको पुँजी वृद्धि गर्नका लागि लाभांश वितरण नगरिने बताइएको छ । पुँजी वृद्धिपश्चात् एक्सचेन्जको अधिकृत पुँजी ३० करोड र जारी पुँजी २० करोड हुनेछ । अर्कोतर्फ यस आर्थिक वर्षको अधिकांश समय ओरालो लागेको नेप्सेमा कारोबार रकममा भने अघिल्लोको तुलनामा ठूलो ह्रास आउने देखिएको छ । कारोबार रकम, बजार पुँजीकरण, पुँजीगत लाभकरलगायतमा आएको गिरावटका कारण एक्सचेन्जको मुनाफामा पनि असर पर्नेछ ।
आर्थिक वर्षमा नेप्सेको कारोबार गत वर्षको तुलनामा ४४ दशमलव ३९ प्रतिशतले कम हुने अनुमान गरिएको छ । जेठ १५ सम्म ११ अर्ब १० करोड रुपैयाँको कारोबार भएको नेप्सेमा अघिल्लो आर्थिक वर्षभर २१ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो । एक्सचेन्जका अनुसार आर्थिक वर्ष २०६४/६५ मा २२ अर्ब ८२ करोड रुपैयााको कारोबार भएको थियो ।
कारोबार रकममा आएको गिरावटमा मुलुकको आर्थिक अवस्था कारक रहेको नेप्सेका अध्यक्ष टंक पनेरूले बताए । आगामी आर्थिक वर्षभित्र केन्द्रीय निक्षेप प्रणाली लागू भएपछि कारोबारमा उच्च सुधार आउने नेप्सेको विश्वास छ । 'आगामी छ महिनाभित्र केन्द्रीय निक्षेप प्रणाली लागू हुँदै छ,' पनेरूले भने, 'त्यसपछि बजारमा सुधार हुनसक्छ ।'
स्रोत:http://www.ekantipur.com, २०६७ जेष्ठ ३०
No comments:
Post a Comment