खोज्नुस

Friday, July 16, 2010

घरजग्गा कारोबार नब्बे प्रतिशतले घट्यो

गत वर्ष अत्यधिक कारोबार भएको बुटवल र आसपासको घरजग्गा किनबेचको क्रम यसपालि स्वात्तै घटेको छ । बैंकहरूले घरजग्गामा गर्दै आएको लगानीमा कटौती गर्न थालेपछि पुसयता किनबेचको क्रम करिब ९० प्रतिशतले घटेको हो । बैंकहरूले जग्गामा लगानी घटाउँदा त्यसको प्रभाव सबैभन्दा बढी व्यावसायिक रूपमा बिक्रीका लागि तयार गरिएका प्लटिङका जग्गामा परेको छ। 'बैंकले लगानी गर्दा व्यक्तिले ऋण लिएरै घरजग्गा किन्थे,' जग्गा व्यवसायी हरि न्यौपानेले भने, 'ऋणमा कडाइ गरेपछि आफूसित पैसा नहुनेले किन्न आँट्नै सक्दैन।' बुटवलमा प्लटिङ गरेका र बेच्नका लागि विज्ञापन गरिएका धेरै घरजग्गा बिकेका छैनन्। रूपन्देही मालपोत कार्यालयको तथ्यांकअनुसार गत वर्ष यो समयमा दैनिक ८० देखि ९० वटा घरजग्गाको कारोबार हुने गरेको थियो । अहिले मुस्किलले ७/८ वटाको मात्र कारोबार हुने गरेको छ। कारोबार भएका पनि व्यावसायिकभन्दा नामसारी, छुटलगायत बढी छन्।  रूपन्देहीको बुटवल बजारलगायत बजार उन्मुख गाविस शंकरनगर, करहिया, आनन्दवन, प्रसरी, सेमलारलगायत क्षेत्रमा पनि जग्गा कारोबारमा उच्च गिरावट आएको मालपोत कार्यालय बुटवल क्षेत्र अधिकृत ओम जीसीले बताए । 'सामान्य अंशबन्डा, नामसारी, वारेसनामालगायत काम मात्र भएको छ,' उनले भने, 'घरजग्गा किनबेच गर्न बुटवल क्षेत्रबाट दिनमा मुस्किलले ४/५ जनाआउँछन्।' बुटवल क्षेत्रका घरजग्गाको कारोबार घट्दै जाँदा राजस्व संकलनमा कमी आएको छ । पुसमा मालपोतले करिब साढे तीन करोड राजस्व संकलन गरेको  थियो।

No comments:

Post a Comment