खोज्नुस

Tuesday, July 6, 2010

बैंकहरूको नाफा १५ अर्ब नाघ्ने


पछिल्लो ६ महिना चरम तरलता अभावको समाना गरे पनि चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा नघट्ने देखिएको छ । असार दोस्रो सातासम्म नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्यांकको आधारमा वाणिज्य बैंकहरूको कुल नाफा १५ अर्ब नाघ्ने देखिएको छ ।
वर्षको पहिलो ६ महिनामा भएको उल्लेख्य कर्जा प्रवाहका कारण यो वर्ष नाफा नघटेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 'यस वर्ष वाणिज्य बैंकहरूको नाफा १५ अर्ब नाघ्ने देखिन्छ,' केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने । देशभर २७ वाणिज्य बैंक सञ्चालित छन् ।
वाणिज्य बैंकहरूले साउनदेखि पुससम्ममा करिब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यससँगै माघयता बढेको ब्याजदरले पनि बैंकहरूलाई यस वर्ष सन्तोषजनक अवस्थामै राख्नेछ । केन्द्रीय बैंकको अनुमानअनुसार नाफा हुने हो भने यो रकम गत वर्षको भन्दा १ अर्ब रुपैयाँ बढी हुनेछ । गत वर्ष वाणिज्य बैंकहरूको कुल नाफा १४ अर्ब रुपैयाँ थियो ।
यस वर्षको चैतसम्ममा बैंकहरूको नाफा १० अर्ब ३१ करोड रुपैयाँ छ । माघदेखि चैतसम्म यो नाफा करिब ३ अर्ब रुपैयाँले बढेको छ । 'चौथो त्रैमासिकमा असुली बढ्ने र ब्याजदरमा पनि वृद्धि भएकाले बैंकहरूले ५ अर्ब रुपैयाँ नाफा आर्जन गर्नसक्ने देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो । यता बैंकरहरूले भने नाफाबारे अहिल्यै अनुमान गर्न नसकिने बताएका छन् । 'पहिलो ६ महिनाभन्दा दोस्रो ६ महिनामा घट्न सक्ने अनुमान गरेका छौं,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने, 'तर अहिल्यै भन्न सकिँदैन ।'

No comments:

Post a Comment