खोज्नुस

Sunday, July 18, 2010

तरकारीको मूल्य बढयो

वर्षातका कारण उत्पादन कम हुन थालेपछि राजधानीमा तरकारीको मूल्य आकासिएको छ। उत्पादन घटेर विभिन्न जिल्लाबाट राजधानी भित्रने तरकारीमा कमी आएकाले मूल्य बढेको हो। धेरै खपत हुने आलुको मूल्य एक महिनादेखि स्थिर देखिए पनि चल्तीका तरकारीको भाउ भने किलोको ५/६ देखि २५/२६ रुपैयाँसम्म वृद्धि भएको छ। ‘अहिले बजारमा कम तरकारी आएकाले भाउ बढेको छ,' उपत्यका फलफूल तथा तरकारी बजार बानेश्वर पसल नम्बर ४० की बिक्रेता जानुका उप्रेतीले भनिन्। उप्रेतीले पानी परेका दिन बानेश्वर तरकारी बजारसम्म पर्याप्त तरकारी नआउँदा एकै दिनमा भाउ बढ्ने गरेको बताइन्। ‘अहिले सबैभन्दा बढी बोडी, बन्दा, टमाटर, खोर्सानी, सिमीलगायतको भाउ धेरै बढेको छ' उनले भनिन्। बजारमा ताजा तरकारी कम आउन थालेपछि खुद्रा मूल्य थोकको तुलनामा अझ बढेको छ। बानेश्वरका खुद्रा तरकारी पसले सुन्दर बस्नेतका अनुसार थोक पसलेले राजधानी भित्रिँदाको भन्दा मूल्य बढाएर बेच्ने गरेकाले खुद्रा मूल्य बढेको हो। ‘किसानले पाउने मूल्य थोरै हुन्छ तर हामीले बेच्ने बेलासम्म भाउ बढेर माथि पुगिसकेको हुन्छ,' उनले भने, ‘वर्षाको समयमा उत्पादन छैन भन्दै भाउ बढाउने गर्छन्।' बन्दा, काउलीजस्ता तरकारी हिउँदमा प्रशस्त उत्पादन हुने तर वर्षामा कम हुने भएकाले यस्ताको मूल्य बढेको बिक्रेताहरु बताउँछन्। बोडी, सिमी, भिण्डीलगायतको भने वर्षामा उत्पादन बढी हुनुपर्ने भए पनि यसपटक भने यस्ता तरकारीको पनि मूल्य बढेको छ। ‘तरकारीको भाउ बढेर छोइनसक्नु भइसक्यो,' मिनभवनकी गृहिणी देवी कार्कीले भनिन्, ‘भाउ बढेको कसैले मतलव गर्ने होइनन्।' 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पनि राजधानीमा माग अनुरुप तरकारीको आपूर्ति नहुदा मूल्य बढेको जनाएको छ। ‘वर्षामा हाम्रो उत्पादनमा कमी आउँछ,' समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले भने, ‘उत्पादनले माग पूरा गर्न नसक्ने अवस्था आएपछि भाउ बढेको हो।'  समितिका अनुसार असार लागेपछि राजधानी आउने कृषि उपजमा कमी आएको छ। असार ५ गते ५ सय ९७ मेट्रिक टन कृषि उपज राजधानी भित्रिएकोमा बुधबार ३ सय ८८ मेट्रिक टन मात्र कृषि उपज भित्रिएको समितिले जनाएको छ। बुधबार आएको कृषि उपजमध्ये ३ सय १५ मेट्रिक टन मात्र तरकारी थियो। यसैगरी मंगलबार ३ सय ३२ मेट्रिक टन कृषि उपज राजधानी आएकामा २ सय ७५ मेट्रिक टन तरकारी थियो। 

समितिका अनुसार, राजधानीमा दैनिक करिब १ हजार मेट्रिक टन तरकारी र फलफूल खपत हुने गरेको छ। राजधानीमा खपत हुने फलफूल तरकारीमध्ये ५० प्रतिशतको आपूर्ति कालिमाटी बजारबाट हुन्छ। 
आलुको भाउ स्थिर, लसुनको बढेको बढ्यै 
अरु तरकारीको मूल्य बढे पनि आलुको भने स्थिर छ। ‘अहिले आलुको भाउ खासै बढेको छैन,' कान्तिपुर सब्जी भण्डार बानेश्वरका सञ्चालक गणेश गौतमले भने। बिहीबार राजधानीमा आलुको थोक मूल्य प्रतिकेजी रातोको २० देखि २२ र सेतोको १५ देखि १७ थियो। एक महिनाअघि पनि आलुको मूल्य यस्तै थियो। आलुको मूल्य स्थिर रहे पनि लसुनको भने बढेको छ। ढुवानी भाडा वृद्धि र स्वदेशी उत्पादनको कमीले लसुनको मूल्य बढेको हो। बिहीबार राजधानीमा चिनिया" लसुनको मूल्य प्रतिकेजी १ सय ७५ सम्म पुगेको छ। ‘चीनबाट आयत गर्दा ढुवानी भाडा बढेकाले मूल्य बढेको हो,' लसुन आयातकर्ता तथा थोक बिक्रेता हरिओम इन्टरप्राइजेजका सञ्चालक हरि कँडेलले भने। लसुन बिक्रेता सेवक दुवालका अनुसार लसुनको भाउ प्रत्येक दिन बढ्दै गएको छ।
स्रोत: http://nagariknews.com

No comments:

Post a Comment