खोज्नुस

Sunday, July 18, 2010

सुनको मुल्यमा २६% ले वृदि


आर्थिक वर्ष २०६६/०६७ मा स्थानीय बजारमा बहुमूल्य धातु सुनको मूल्य करिब २६ प्रतिशतले बढेको छ । गत असार-साउन सुरुको तुलनामा यस वर्षको असार अन्तिममा प्रतितोला सुनको मूल्यमा सात हजार पाँच सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेकाले स्थानीय बजार प्रभावित भएको हो । अमेरिकाबाट सुरु भएको विश्वव्यापी आर्थिक मन्दी, गि्रस आर्थिक संकट र त्यसले युरोपेली संघअन्तर्गतका मुलुकमा परेको असरले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार २०६६ साउन १ गते प्रतितोला सुनको मूल्य २७ हजार आठ सय -प्रतिदस ग्राममा २३ हजार आठ सय ३५) रुपैयाँ कायम भएको थियो । 'यो बढेर शुक्रबार तोलामा ३५ हजार तीन सय-प्रतिदस ग्राम ३० हजार दुई सय ६५) रुपैयाँ पुगेको छ,' उनले थपे, 'अन्तर्राष्ट्रिय मूल्यले स्थानीय बजारमा पनि भाउ उकालो लागेको हो ।' स्थानीय बजारमा असार १७ गते सुनको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेर तोलामा ३६ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।
अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीको प्रभाव विश्वभरि फैलिरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आव २०६६/०६७ को सुरुमा उकालो लागेको थियो । 'त्यतिखेर मन्दीको प्रभाव विस्तारै कम भइरहेको थियो,' शाक्यले थपे, 'केही महिनापछि गि्रस संकट युरोपेली मुलुकमा फैलन थालेपछि फेरि सुनको मूल्य उच्चदरले बढ्यो ।' अमेरिकी डलर र युरोपमा आएको घटबढले पनि सुनको मूल्यमा असर परेको हो  । अन्तर्राष्ट्रिय बजारमा यस वर्षको सुरुमा प्रतिऔंस सुनको मूल्य एक हजार अमेरिकी डलरभन्दा कम रहेकोमा अहिले बढेर एक हजार दुई सय सात डलर पुगेको छ । विश्वमा यस वर्ष दुईवटा ठूला आर्थिक समस्या देखिँदा लगानीकर्ताहरूले सुरक्षित लगानीको रूपमा सुन किन्न थालेपछि मूल्य उच्चदरले बढेको हो । सुनलाई सुरक्षित लगानी क्षेत्रको रूपमा लिइन्छ ।
यस वर्ष चाँदीको मूल्य पनि उल्लेख्य वृद्धि भएको छ । गत आवको सुरुमा प्रतितोला चाँदीको मूल्य चार सय ३७ डलर रहेकोमा अहिले बढेर तोलामा ५ सय ५२ रुपैयाँ पुगेको छ । साताभर मूल्यमा उतारचढाव स्थानीय बजारमा यस साता सुनको मूल्यमा उतारचढाव आएको छ । साताको पहिलो दिन आइतबार स्थानीय बजार प्रतितोला पहेंलो धातुको मूल्य ३५ हजार तीन सय ४७ -दस ग्राममा ३० हजार तीन सय ५) रुपैयाँ रहेको थियो । उतारचढावपछि शुक्रबार प्रतितोला सुनको मूल्य ३५ हजार ३ सय (दस ग्राममा ३० हजार दुई सय ६५) रुपैयाँ कायम भयो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको कारण स्थानीय बजारमा सुनको मूल्यमा उतारचढाव आएको संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबारप्रति आउन्स सुनको मूल्य एक हजार दुई सय १२ अमेरिकी डलर रहेको थियो । शुक्रबार केही घटेर एक हजार दुई सय सात डलर कायम भयो । संघका अनुसार सोमबार आइतबारकै मूल्यमा सुनको कारोबार भयो । मंगलबार प्रतिदस ग्राम सुनको मूल्य ३० हजार दुई सय २० रुपैयाँ कायम भयो । बुधबार र बिहीबार सोमबारकै मूल्यमा बहुमूल्य धातुको कारोबार भयो ।
आयातको कोटा घट्यो
राष्ट्र बैंकले असार ३० गतेदेखि लागू हुने गरी सुन आयातको कोटा घटाएको छ । यसअघि दैनिक २० किलो सुन आयात गर्न सकिने व्यवस्था रहेकामा अब दैनिक १० किलो आयात गर्न पाइन्छ ।
स्रोत: http://www.ekantipur.com

No comments:

Post a Comment