खोज्नुस

Wednesday, July 7, 2010

नेपालमा लगानीबारे भारतमा भोलि छलफल हुँदै


भारतको अहमवादस्थित गुजरातमा “नेपालमा व्यापार तथा लगानीका अवसरहरु” विषयक कार्यक्रम बुधबार हुने भएको छ ।
भारतस्थित नेपाली राजदुतावास तथा भारतीय उद्योग महासंघ (CII) गुजरात शाखाको पहलमा दुवै देशका सरकारी एवं निजी क्षेत्रका पदाधिकारीहरुको सहभागितामा कार्यक्रमको आयोजना हुन लागेको हो ।
सो कार्यक्रममा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा ६ सदस्यीय महासंघको प्रतिनिधिमण्डल टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपालको आर्थिक विकासमा भारतीय नीजि क्षेत्रको लगानी आकर्षण गर्ने मुख्य उद्देश्यले आयोजना गरिन लागिएको सो कार्यक्रमलाई भारतका लागि नेपाली राजदुत रुक्मशंसेर राणा, गुजरातका औद्योगिकमन्त्री, महासंघको प्रतिनिधिमण्डलका नेता एवं निवर्तमान अध्यक्ष ढकाल र सीआईआई गुजरातका अध्यक्षले सम्वोधन गर्नुहुने कार्यक्रम छ ।
कार्यक्रममा नेपालका तर्फबाट नेपालको नयाँ औद्योगिक नीति एवं यसले प्रदान गरेका सुविधाहरु र नेपालको आर्थिक विकासमा निजी क्ष्ँेत्रको भूमिका बिषयमा र भारतको तर्फबाट गुजरातको आर्थिक विकासका अनुभवहरु समेटिएका कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।
अत्यन्त ठूलो व्यापार घाटा व्यहोरीरहेको नेपालका लागि नेपालमा भारतीय लगानी आकर्षण, दुई देश बीचको व्यापार घाटा कम गर्नका लागि दुवै देशका तर्फबाट खासगरि निजी क्षेत्रका तर्फबाट खेल्नु पर्ने भूमिका सम्बन्धमा सो कार्यक्रममा बृहद छलफल हुने छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालले भारतसँग करिव १ सय २३ अर्व रुपियाँको व्यापार घाटा व्यहोरी रहेको छ । चुलिंदो यो व्यापार घाटालाई न्यून गर्न नेपालले भारतमा निर्यात हुने वस्तुहरुको पहिचान सहित निर्यात वृद्धि, नेपालमा संयुक्त लगानी विस्तार तथा सबैभन्दा बढी सम्भाव्यता भएको जलविद्युतको विकास गरि उत्पादित विद्युत भारत निकासी गर्नुपर्ने सुझाव पटक पटक दिइंदै आएको छ, ।
गुजरात कार्यक्रममा पनि यस सम्बन्धमा वृहद छलफल भई नेपालमा लगानी विस्तारका लागि महत्वपूर्ण पहल हुने विश्वास नेपाल उद्योग वाणिज्य महासंघले लिएको छ ।
महासंघको कार्यकारिणी समितिका सदस्य शेखर गोल्छा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश सिकारिया, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी र कार्यकारिणी सदस्य यमबहादुर सिल्वाल तथा महासंघका महानिर्देशक डा. हेमन्त दवाडी सदस्य रहनु भएको महासंघको प्रतिनिधिमण्डलले सो अवसरमा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीसंग पनि भेटघाट गरि नेपालमा लगानी एवं व्यापार विस्तारका लागि आग्रह गनुहुने कार्यक्रम रहेको महासंघले विज्ञप्ती जारी गरेर जनाएको छ ।
त्यसैगरि महासंघको प्रतिनिधिमण्डलले असार २३ गते गुजरातस्थित औद्योगिक क्षेत्रको स्थलगत भ्रमण गरि त्यहाँका लगानीकर्ताहरुसंग भेटघाट गर्ने छ भने असार २४ गते भारतीय उद्योग महासंघ (CII) र भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) का पदाधिकारीहरुसंग भेटी दुई देश बीचको विद्यमान आर्थिक व्यवसायिक सम्बन्ध, आयात निर्यातको अवस्था एवं लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा वृहद छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

No comments:

Post a Comment