खोज्नुस

Wednesday, July 7, 2010

चामलको मूल्य बढ्यो

सँधैझैँ यो वर्षा याममा चामलको भाउ उच्चदरले बढेको छ। व्यापारीका अनुसार विभिन्न चामलमा किलोको ३ देखि १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ।


किराना व्यापारी संघ तथा खुद्रा व्यापार संघले उपत्यकामा सोना मन्सुली, मन्सुली, जिरा मसिनो, बास्मतीलगायत चामलको मूल्य एक महिनामा अकासिएको जनाएका छन्। 'जेठसम्म चामलको भाउ स्थिर नै थियो,' किराना व्यापारी संघका उपाध्यक्ष पुरुषोत्तम मानन्धरले भने, 'असार लागेपछि मूल्य बढेको बढ्यै छ।' 
 मानन्धरले जेठमा सोना मन्सुली चामल ३० केजीलाई ८ सय रुपैयाँ पर्ने गरेकामा अहिले यसको मूल्य १ हजार १ सयदेखि १ हजार १ सय २५ पर्ने बताए। जेठमा २५ केजीको १ हजार ६५ रुपैयाँ मूल्य पर्ने मन्सुली चामलको भाउ भने हाल १ हजार २ सयदेखि १ हजार २ सय २५ सम्म पुगेको छ।
 'महिनाको के तुलना गर्नु दिनैपिच्छे चामलको भाउ बढिरहेको छ,' मानन्धरले भने, 'जति मूल्य बढे नि कसैले केही नगर्ने भएकाले यस्तो भएको हो।' खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बर्जाचार्यले भने भारतले सीमा क्षेत्रमा कडाइ गरेपछि चामलको मूल्य बढेको बताए। 'भारतले चामलको निर्यात रोके पनि अवैधरुपमा चामल आइरहेको थियो,' उनले भने, 'तर केही समयदेखि सीमा सुरक्षा बलले कडाइ गरेपछि अवैधरुपमा आउने क्रम पनि रोकिएकाले मूल्य बढेको हो।'
 २५ केजीको जिरा मसिनको चामललाई जेठमा १ हजार २ सय ५० रुपैयाँ पर्ने गरेकामा हाल भने १ हजार ३ सय २५ देखि ५० सम्म पुगेको मानन्धरले जानकारी दिए। जेठमा प्रति २० केजीको १ हजार २ सय ५० देखि १ हजार ३ सयसम्म मूल्य पर्ने भारतीय वास्मती चामलको मूल्य भने १ हजार ३ सय ५० देखि ७५ सम्म पुगेको छ।
 जथाभावी मूल्य बढाउँदा सरकारले हस्तक्षेप नगरेकाले उत्पादक र व्यापारीले सीमामा कडाइ भएको थाहा पाउने वित्तिकै मूल्य बढाएको उनीहरुको दाबी छ। 'सरकारले न मूल्य तोक्छ न कारबाही गर्छ,' मानन्धरले भने, 'जसले जत्ति मूल्य राखे पनि भयो।'

गत साउनदेखि वैशाखसम्ममा चामलको मूल्य केही मात्रामा बढेको भए पनि असार लागेपछि एक्कासी भाउ बढेको व्यापारी बताउँछन्। सरकारी तथ्याङ्कले पनि चालु आर्थिक वर्षको १० महिनामा चामलको भाउ न्यूनमात्रामा वृद्धि भएको देखाएको छ। वाणिज्य विभागले तयार गरेको तथ्याङ्क अनुसार गत साउनमा चामलको औसत खुद्रा मूल्य प्रतिकेजी ३१ रुपैयाँ ५० पैसा रहेकोमा वैशाखमा ३५ रुपैयाँ पुगेको छ।

No comments:

Post a Comment