खोज्नुस

Thursday, July 15, 2010

नेपाली वस्तुमा चिनियाँ ग्राहक आकर्षित


चीनको कुनमिङमा आयोजना भइरहेको तेस्रो दक्षिण एसियाली व्यापार मेलामा नेपाली हस्तकलाका सामग्रीले थुप्रै चिनियाँलाई आकर्षित गर्न सफल भएको छ । चीनको युनान प्रान्तको राजधानी सहर कुनमिङमा आइतबार सुरु भएको पाँच दिवसीय मेलामा चिनियाँले विशेष गरेर नेपाली थाङ्का र हस्तकलाका सामानमा बढी रुची देखाएका छन् । नेपाली हस्तकलाका सामानका छुट्टै विशेषता हुनुका साथै तुलनात्मकरूपमा स्तरीय र सस्तो भएको चिनियाँ ग्राहकको मूल्याङ्कन छ । चीनको युनान प्रान्त तुलनात्मकरूपमा नेपालको नजिकमा पर्ने र दुवै पक्षबीच लामो समयदेखि भ्रमण आदानप्रदान रहदैँ आएकाले त्यहाँका बासिन्दाले नेपालमा बनेका सामान धेरै मन पराउने चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभागकी प्रमुख वर्षाले बताइन् । मलाई नेपालका थाङ्का एकदमै मनपर्छ, नेपाली नाम भएकी चिनियाँ नागरिक वर्षाले नेपाली स्टलबाट थाङ्का किनिसकेपछि भनिन्- "म नेपाली थाङ्कामा भएको कलालाई हेरेर आफैँलाई हराउनसक्छु ।"
चीनका लागि नेपालका राजदूत टङ्कप्रसाद कार्कीले चीन ठूलो बजार हो भन्दै प्रदर्शनीबाट अझ धेरै चिनियाँले नेपाल र नेपालमा बनेका वस्तुका सम्बन्धमा बढी जानकारी लिनसक्ने उल्लेख गरे । राजदूत कार्कीले युनान प्रान्त हुँदै धेरै नेपाली वस्तुले चीनको ठूलो बजारमा प्रवेश पाउनसक्ने सम्भावना रहेको बताए । मेलामा ४० वटा स्टलमा थाङ्का, धातुकला, काष्ठकला, तयारी पोसाक, खुकुरी, गरगहनालगायतका नेपाली उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । चीनमा दक्षिण एसियाली मुलुकको उत्पादनको निर्यात बढाउन र चीन तथा दक्षिण एसियाली मुलुकबीचको व्यापारिक असन्तुलन घटाउन चीनले उक्त मेला आयोजना गर्दै आइरहेको बेइजिङस्थित नेपाली दूतावासका काउन्सिलर निर्मलराज काफ्लेले बताए।सन् २००७ र २००९ मा क्रमशः बेइजिङ र कुनमिनमा पहिलो र दोस्रो दक्षिण एसियाली व्यापार मेला आयोजना गरिएको थियो।
आइतबार आयोजित मेलाको उद्घाटन समारोहमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्की, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सूर्य सिलवाल, नेपाल-चीन कार्यकारी परिषद्का महासचिव राजेन्द्र नकर्मी, नेपाल-चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका नेपाली उद्योगी, व्यापारी र सरकारी अधिकारीको उपस्थिति थियो साथै सो समारोहमा काठमाडौँस्थित चिनियाँ दूतावासका अधिकारी, चीनका उच्चपदस्थ सरकारी अधिकारी तथा बेइजिङस्थित दक्षिण एसियाली मुलुकका राजदूत र कूटनीतिक नियोगका अधिकारीको उपस्थिति रहेको थियो । मेलामा नेपालको अतिरिक्त दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, माल्दिभ्स र भुटानको सहभागिता रहेको छ । चीनको वाणिज्य मन्त्रायलको पछिल्लो तथ्याङ्कअनुसार सन् २००९ मा चीन र दक्षिण एसियाली मुलुकबीच करिब ५७ अर्ब अमेरिकी डलर बराबरको व्यापारिक कारोबार भएको थियो।

No comments:

Post a Comment