लघु वित्त खोल्न चाहने बैंकहरूका लागि लगानी सहज भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै 'घ' वर्गका लघुवित्त बैंकमा चुक्ता पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था थियो तर बैंकहरूले लघुवित्तबाहेक अन्य वित्तीय संस्थामा लगानी गर्न पाउने छैनन् । ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न केन्द्रीय बैंकले लघुवित्त संस्थाहरूलाई प्रोत्साहित गर्दै आइरहेको छ । गत वर्ष अन्य प्रकृतिका वित्तीय संस्था खोल्न प्रतिबन्ध लगाएको राष्ट्र बैंकले नयाँ लघुवित्त बैंक भने स्थापना गर्न खुला राखेको छ । हाल १७ लघुवित्त विकास बैंकले लघु कर्जा सेवा दिइरहेका छन् । यी बैंकसँगै साना किसान सहकारी, बचत तथा ऋण सहकारी संस्था र वित्तीय मध्यस्तता गर्ने गैरसरकारी संस्थाहरूले पनि लघु वित्त सेवा दिइरहेका छन् । 'ग्रामीण क्षेत्रमा वित्तीय सेवा पुर्याउन सहज होस् भनेर यो व्यवस्था गरिएको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने । विभिन्न वाणिज्य बैंक मिली लघु वित्त बैंक खोल्न सक्ने विकल्पलाई पनि केन्द्रीय बैंकले खुला राखेको छ । यससँगै नाफा कमाउने उद्देश्य नराखी सञ्चालित संस्थाहरूले वाणिज्य बैंकमा बचत खाता खोल्न पाउने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ । यसअघि प्रकृतिक व्यक्तिबाहेक अन्य कुनै पनि संस्थाले बचत खाता खोल्न नपाउने व्यवस्था गरिएको थियो ।
यसैगरी केन्द्रीय बैंकले निश्चित क्षेत्रका लागि अनुमति लिएर बाहिर पनि कर्जा प्रवाह गरिरहेका विकास बैंकहरूलाई पनि सहुलियत दिएको छ । यसअघि यही असार मसान्तसम्म कार्य क्षेत्र बाहिर प्रवाह भएको कर्जा क्षेत्रभित्र ल्याउन दिइएको निर्देशनमा संशोधन गर्दै समयसीमा १ वर्ष थपिएको छ । केन्द्रीय बैंकबाट ३ जिल्लामा कार्य गर्ने अनुमति लिएका केही विकास बैंकहरूले बनेपामा कार्यालय खोली काठमाडौंमा लगानी गर्दै आइरहेका थिए । नयाँ व्यवस्थापछि यी विकास बैंकहरूले २०६८ असार मसान्तभित्र कार्य क्षेत्रभन्दा बाहिरको कर्जा असुल गरिसक्नुपर्नेछ । विकास बैंक संघले यो व्यवस्था लागू नगर्न आग्रह गर्दै आइरहेको थियो । तर केन्द्रीय बैंकले भने ग्रामीण क्षेत्रमा सेवा पुर्याउन क्षेत्र तोकेर सेवा सीमित गरिएकामा ती संस्थाहरू पनि काठमाडौं केन्दि्रत भएकाले यो व्यवस्था गरेको बताउँदै आएको थियो । थप एक वर्षको अवधि पाएपछि तत्कालका लागि यी विकास बैंकहरूको खराब कर्जा भने नबढ्ने भएको छ ।
यससँग मंगलबारै जारी परिपत्रले साना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्न केही सहज बनाएको छ । यसअघि ठूला लगानीकर्ताले सेयरको 'हक' उनीहरूले चाहेको मूल्यमा बिक्री गर्न दबाब दिने गरेको पाइएकोले मूल्य तोकी हक बिक्री गर्न सकिने व्यवस्था नयाँ परिपत्रले गरेको छ
No comments:
Post a Comment