खोज्नुस

Thursday, July 15, 2010

नेपाली बजार सुनसान


इलामका सीमावर्ती पर्यटकीय नेपाली बजार एक महिनादेखि सुनसान भएका छन् । इलामको सीमावर्ती पर्यटकीयस्थलको सिमानामा पर्ने दार्जिलिङको सिंहलिला राष्ट्रिय निकुञ्जमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाइएपछि सीमावर्ती तुम्लिङ, मेघमा, गुराँसे, कालपोखरी,बिखेभन्ज्याङ,मानेभन्ज्याङ, सन्दकपुर लगायतका नेपाली बजार सुनसान भएका हुन् । नेपालतर्फबाट उल्लेख्य सङ्ख्यामा पर्यटक जान नसक्दा लामो समयदेखि यसक्षेत्रका बासिन्दाले भारतबाट आउने पर्यटक पर्खनुपर्ने बाध्यता छ ।
पर्यटक नआउने सो मौसममा यहाँका व्यापारी रोजगारीका लागि अन्यत्रै जाने गरेका स्थानीयवासी बताउँछन् । रेडपान्डा -हाब्रे) को प्रजनन समय भएकाले त्यस क्षेत्रमा भारतको बाटो भएर आउने पर्यटकलाई रोक लगाएको छ । जेठ १५ देखि असोज १५ सम्मका लागि पर्यटक आउन प्रतिबन्ध लगाइएको हो । विश्वमा नै दुर्लभ मानिएको रेडपान्डा पाइने रहेकाले सिंहलिला क्षेत्रमा यतिबेला अनुकूल वातावरण सिर्जना गर्नुपर्ने भन्दै आवागमनमा रोक लगाएपछि सीमावर्ती नेपाली बजार सुनसान बनेको हो । यो बजारमा भारत भएर आउने पर्यटकका भरमा सञ्चालन हुने आधादर्जन होटल यसक्षेत्रमा छन् । पैदल सन्कदकपुरतर्फ जाने कतिपय पर्यटकका लागि यो बजार बासस्थानका रूपमा रहेको छ । सगरमाथा, कञ्चनजङ्घालगायतका हिमाल र सूर्योदयको दृश्यावलोकन धार्मिक र जैविक महत्वको सन्दकपुर क्षेत्रमा नेपालतर्फ पर्यटकीय पूर्वाधार विकास हुन नसकेका कारण बर्सेनि यो समस्या आउने गरेको स्थानीयवासी गुनासो गर्दछन् ।
नेपाल भएर जिल्लाकै अग्लो सन्दकपुर डाँडासम्म मोटरबाटो नपुग्नु नै यहाँको प्रमुख समस्या हो । मावु र माइमझुवाबाट नेपाल भएर नै सन्दकपुर मोटर पुर्‍याउने प्रयास भइरहे पनि काम हुनसकेको छैन । नेपालकै भूमि भए पनि भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता भएकाले पर्यटकलाई सन्दकपुर पुग्न कठिनाइ छ । त्यस्तै इलामको उत्तरी जमुनाको चोयाटार सामुदायिक वनले पनि रेडपान्डा हेर्न जाने पर्यटकलाई प्रतिबन्ध लगाएको छ । रेडपान्डाको प्रजनन समय भएकाले सुरक्षित गर्भाधानका लागि मानवीय अवरोध नहोस् भनेर वन समूहले पर्यटक आवागमनमा रोक लगाएको हो । असार १ गतेदेखि भदौभरका लागि पर्यटकलाई प्रवेश नदिइने वन समूहकी अध्यक्ष गोपीका गुरुङले बताइन् । यो क्षेत्रमा आधादर्जनभन्दा धेरै रेडपान्डा रहेको अनुमान गरिएको छ ।
जिल्ला वन कार्यालय, रेडपान्डा नेटवर्कलगायतले पनि त्यहाँ रेडपान्डाको संरक्षणका लागि स्थानीय बासिन्दालाई सहयोग गरेका छन् । वन समूहले पान्डा हेर्न आउने विदेशी र नेपाली पर्यटकलाई फरकफरक दरमा रकम लिएरमात्र हेर्न र अध्ययन गर्ने व्यवस्था मिलाएको छ।

No comments:

Post a Comment