परीक्षामा सामेल धितोपत्र दलाललाई करिब ३ वर्षअघि दिइएको अंक पुनर्मूल्याकंन हुने भएको छ । पछिल्लो समय दलाल थप्ने प्रक्रियाबारे धितोपत्र बोर्डले गरेको अध्ययनअनुसार ७५ अंकको बाँडफाँडमा सुधार गर्नुपर्ने देखिएको हो । 'पहिले दिइएको अंकमाथि प्रश्न उठाउन सक्ने अवस्था देखिएको छ,' धितोपत्र बोर्ड स्रोतले भन्यो, 'अंक दिनका लागि स्पष्ट व्याख्या नभएकाले समस्या आएको हो ।' अनुसन्धानले विभिन्न विषयमा प्रश्न उठ्न सक्ने उल्लेख गरे पनि अन्तिम निर्णय भने मंगलबार बस्ने बोर्ड बैठकले गर्नेछ । करिब डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र दलाल थप्ने प्रक्रियामा खोट रहेको बताउँदै रोक्न निर्देशन दिएको थियो । पछि सर्वोच्च अदालतले प्रक्रियाको अख्तियारी धितोपत्र बोर्डलाई मात्र रहेको बताएपछि परीक्षा सुरु गर्ने तयारी भएको हो । हालको अनुसन्धान पनि अख्तियारकै निर्देशनअनुसार भएको हो । पछिल्लो समयमा अख्तियारले उठाएका प्रश्न अदालतले गलत नभनेको भन्दै छानबिन गर्नुपर्ने माग उठाइएको थियो । अख्तियारले धितोपत्र बोर्डलाई अनुसन्धान गर्न निर्देशन दिएपछि पछिल्लो अनुसन्धान भएको हो ।
धितोपत्र बोर्डले गरेको अध्ययनले वित्तीय क्षेत्रमा काम गरेका व्यक्ति अनुभवका आधारमा दिइने अंकबारे छानबिन गरेको छ । जसमा दुई वर्ष वा त्योभन्दा धेरै अनुभवलाई प्राथमिकता दिने बताइएकामा लगातार काम गर्नेलाई र छाड्दै गर्नेलाई कसरी छुट्याउने भन्ने विवाद उठाइएको थियो । त्यस्तै चुक्ता पुँजी पुर्याउने र पुर्याउँछु भन्ने दुवैलाई एकै अंक दिइएको आरोप पनि लगाइएको छ । सरकारी सेवामा रहेकाले अनुमति लिएर मात्र परीक्षामा सामेल हुनुपर्ने भए पनि त्यस्तो नभएको, कम्पनी रजिस्ट्रारमा दर्ता कम्पनीलाई मात्र अंक दिनुपर्ने भए पनि दर्ता नभई अंक दिइएकोलगायत विषयमा पनि प्रश्न उठेको हो । यसबाहेक कम्पनीको प्रमुखको अनुभव र शिक्षालाई पनि आधार मानेर अंक दिइएको छ । ३ वर्षको अवधिमा उक्त व्यक्ति परिवर्तन भएको हुन सक्ने वा अंक थपघट गर्नुपर्ने अवस्था आउने अध्ययनमा बताइएको छ । दलाल थप गर्न गठन भएको दलाल छनोट समितिले भने धितोपत्र बोर्डको निर्णयपछि काम सुरु गर्ने बताएको छ । 'पुनरावलोकन भन्दा १५ दिनको समय दिएर अपडेट गर्ने हाम्रो सोच हो,' समितिका संयोजक तथा नेपाल स्टक एक्सचेन्जका महाप्रबन्ध शंकरमान सिंहले भने । 'छनोट विधिमा स्पष्ट व्याख्या छैन,' उनले भने, 'यसलाई तालुकवाला नियमनकारीले व्याख्या गर्ने हो ।' थप हुने प्रक्रियामा रहेका दलालले ७५ अंकको परीक्षा सकेका छन् । २५ अंकको लिखित परीक्षा लिएर प्रकृया सक्ने तयारी स्टक एक्सचेन्जले गरेको थियो । अख्तियारको निर्देशनअनुसार धितोपत्र बोर्डले अनुसन्धान गर्न थालेपछि परीक्षाको प्रक्रिया रोकिएको छ । तर धितोपत्र बोर्डले प्रक्रिया रोक्न निर्देशन नदिएको जनाउँदै आएको छ ।
स्थापनाकालमा ३२ दलाल रहे पनि अहिले २३ दलालले मात्र काम गरिरहेका छन् । करिब तीन वर्षअघिबाट नेप्सेले २७ दलाल थप गरी संख्या ५० पुर्याउने तयारी गरेको थियो । नेप्सेले धितोपत्र दलाल थप गर्ने तयारी गरेपछि ३ सय ३४ वटा कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये ३ सय १६ कम्पनीलाई प्रारम्भिक चरणमा चुनिएको छ ।
No comments:
Post a Comment